१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले पत्रकार पक्राउ गरेर पञ्चायतकालीन अभ्यास गर्‍यो : निवर्तमान अध्यक्ष पोख्रेल

फाइल तस्बिर

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाल प्रेसका पत्रकार बिश्वमणी सुवेदीलाई प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेका छन्।

पत्रकार सुवेदीलाई आज बेलुका सादा पोशाकमा रहेका प्रहरीले कार्यालयभित्र प्रवेश गरेर नियन्त्रणमा लिएका थिए। उक्त घटना लोकतान्त्रिक शासन व्यवस्थामा कल्पनासम्म पनि गर्न नसकिने विषय रहेको पोख्रेलले उल्लेख गरेका छन्। 

अन्य पत्रकारहरूलाई समेत प्रहरीले खोजिरहेको सुन्नमा आएको भन्दै पोख्रेलले भने ‘पक्राउपुर्जी बिना नै सञ्चारमाध्यमको कार्यालयमा पुगेर पक्राउ गर्नु गलत हो, अन्तर्राष्ट्रिय अभ्यास पनि के हो भने पत्रकारले आफ्नो सूचनाको स्रोतको संरक्षण गर्छ र गर्नुपर्छ। अदालतले पनि स्रोत खोल्न बाध्य पार्न पाउँदैन।’

समाचार लेख्ने पत्रकारलाई साइबर ब्युरो लगेर समाचारको स्रोत खोल्न दबाब दिनु भनेको लोकतान्त्रिक शासन व्यवस्थामा कल्पनासम्म पनि गर्न नसकिने विषय रहेको उल्लेख गर्दै निवर्तमान केन्द्रीय अध्यक्ष पोख्रेलले समाचारको सन्दर्भमा कुनै समस्या भएमा त्यसको निरूपणको दायित्व प्रेस काउन्सिलको रहने स्मरणसमेत गराएका छन्। 

‘सिधै प्रहरीको सक्रियतालाई स्वीकार गर्न सकिँदैन,’ पोख्रेलले भने ‘समाचारको सन्दर्भमा कुनै समस्या भएमा त्यसको निरूपणको दायित्व प्रेस काउन्सिलको हो।’

लोकतन्त्रका आधारभूत मान्यताको सम्मान गर्न र कानुनी शासनको प्रत्याभूत गर्ने सन्दर्भमा राज्यका सबै संरचनाहरू गम्भीर बन्नुपर्ने भन्दै उनले प्रहरीको यो शैलीलाई पञ्चायतकालीन अभ्यासका रूपमा चित्रण गरेका छन्। ‘यो अभ्यास त पञ्चायतकालीन अभ्यास भयो, लोकतन्त्रमा यस्तो हुँदैन,’ उनले भने ‘लोकतन्त्रका आधारभूत मान्यताको सम्मान गर्न र कानुनी शासनको प्रत्याभूत गर्ने सन्दर्भमा राज्यका सबै संरचनाहरू गम्भीर बन्नुपर्छ।’ 

पत्रकारहरूलाई पक्राउ गरेर सिंगो प्रेसलाई राज्यले तर्साउन खोजेको भन्दै पोख्रेलले सरकारको यो गलत शैलीले लोकतन्त्र खतरामा पर्ने बताए। उनले पत्रकार सुवेदीको विनासर्त रिहाइको मागसमेत गरेका छन्।

प्रकाशित: १३ कार्तिक २०८३ २०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App