१७ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

सरकार फाँ'सीवादी बाटोतर्फ उन्मुख भयो : एमाले नेता बादल

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार फासीवादी शासनतर्फ उन्मुख भएको आरोप लगाएका छन्। 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै थापाले सरकारको पछिल्लो गतिविधि, पूर्वप्रधानमन्त्रीको गिरफ्तारीलगायत राजनीतिक घटनाक्रमले सरकारको यात्रा फासीवादी बाटोतर्फ अघि बढेको देखिएको दाबी गरे। यसअघि पनि उनले सरकारले जनजीवनका समस्या समाधान गर्न पर्याप्त पहल गर्न नसकेको बताएका थिए। 

थापाले संसद्लाई प्रभावकारी छलफल र संवादको थलो बनाउनुपर्नेमा सत्तापक्षले आफ्नो संख्या र शक्तिको आधारमा निर्णय लाद्ने गरेको आरोप लगाए। गत निर्वाचनमा आफ्नो दलले बेहोरेको पराजयलाई भने लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गरेको उनले बताए। 

‘पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन, हामीले यसलाई भावी विजयको अवसरका रूपमा लिएका छौँ,’ उनले भने। 

सरकारको पछिल्लो छ महिनाको कार्यशैलीको समीक्षा गर्दै थापाले कानुन निर्माण प्रक्रियामा प्रतिपक्षका सुझावलाई पर्याप्त स्थान नदिइएको दाबी गरे। संसद्मा दर्ता भएका विधेयकहरूमा संवाद र सहमतिभन्दा संख्या र शक्तिको आधारमा निर्णय गर्ने प्रवृत्ति देखिएको उनको आरोप थियो। 

‘लोकतान्त्रिक प्रक्रिया संवाद र सहमतिमा आधारित हुनुपर्नेमा सत्तापक्षले संख्या र शक्तिको दम्भमा विधेयकहरू पेलेर पारित गर्ने काम गरेको छ,’ उनले भने। 

साथै उनले विज्ञान तथा प्रविधिमा भएको तीव्र विकास, कृत्रिम बौद्धिकता (एआई), अल्गोरिदम, जलवायु परिवर्तन र विश्व शक्ति सन्तुलनमा भइरहेको परिवर्तनले नयाँ विश्व व्यवस्था निर्माणको प्रक्रिया अघि बढाएको उनको भनाइ थियो। 

‘आज विश्व एआई र अल्गोरिदमको युगमा प्रवेश गरेको छ। जलवायु परिवर्तनले यो संकटलाई अझ गम्भीर बनाएको छ। सँगसँगै यही क्रान्तिले मानव जातिका लागि अभूतपूर्व अवसर पनि ल्याएको छ,’ उनले भने। 

पुरानो विश्व व्यवस्थाको स्थान नयाँ विश्व व्यवस्थाले लिँदै गएको उल्लेख गर्दै थापाले विश्व संक्रमणकालीन उथलपुथलको अवस्थामा रहेको बताए। उनका अनुसार विश्व व्यवस्थाको केन्द्र पश्चिमबाट पूर्वतर्फ सर्दै गएको छ भने पुरानो नेतृत्व र ‘रुल सेटिङ’ नयाँ नेतृत्वतर्फ हस्तान्तरण हुने प्रक्रिया चलिरहेको छ। 

थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक र सांस्कृतिक घटनाक्रमको सूक्ष्म अध्ययनबाट नेपालमा उत्पन्न संकटको वस्तुगत कारण र त्यसको समाधानबारे निष्कर्ष निकाल्नुपर्ने बताए। 

प्रतिनिधिसभाको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने गरी राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा अधिवेशन अन्त्य गरेका छन्। 

प्रकाशित: १६ आश्विन २०८३ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App