२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २२:५ अपराह्न
राजनीति

गोकुल भन्छन्: रास्वपासँग नैतिकताको कसीमा जाँचिने हिम्मत छैन

सत्तासीन दल नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नैतिकता कसीमा जाँचिने हिम्मत नरहेको टिप्पणी गरेका छन्। बुधबार (आज) बसेको संसद् बैठकलाई सम्बोधन गर्दै बाँस्कोटाले यस्तो बताएका हुन्।

भिजिट भिसा प्रकरणमा रास्वपा अनेकन् प्रश्नहरू उठाएको भए पनि त्यसको तथ्य उसँग नभएको टिप्पणी बाँस्कोटाको छ। 'यस्तो अवस्था किन बन्यो भने उहाँहरूसित जवाफ छैन। जे प्रश्न उहाँहरूले उठाउनुभएको हो, त्यसको तथ्य उहाँहरूसित छैन। उहाँहरूसित पनि त्यो नैतिकताको कसीमा जाँचिनका लागि आँट छैन, नैतिकता छैन, हिम्मत छैन,' उनले भने, 'त्यसैले उहाँहरूले चार, पाँचवटा औँला अरुतिर फर्काउनुभएको छ र आफूतिर फर्किएको एउटै औँला कसैले तेर्स्याएको छ भने पनि त्यसको जवाफ दिन तयार हुनुहन्न।'

अगाडि उनले भने, 'साथीहरू देख्छु म, आउनुहुन्छ। अलि दिनयता देखिएको छ, दुई महिना भो कि कति भो! सर्लक्क आउनुहुन्छ, कहिले नाराबाजी गर्नुहुन्छ, कहिले पलेटी मार्नुहुन्छ, कहिले कक्षाकोठाको जस्तो होमवर्क गर्नुहुन्छ, कहिले निलो स्कार्फ प्रदर्शन गर्नुहुन्छ। अब हुँदा हुँदा दुई मिनेट उभिनुहुन्छ। एकोहोरो शङ्ख फुक्नुहुन्छ। अनि लुरुलुरु मौन यात्राका मलामीजस्ता बनेर बाहिर निस्किनुहुन्छ। न कसैको कुरा सुन्नुहुन्छ, न आफ्नो कुरा भन्नुहुन्छ।'

बाँस्कोटाले रास्वपा लोकप्रियतावादमा रमाइरहेको पनि बताए। 'यही हो लोकप्रियतावाद भनेको, मेरोबारे प्रश्न उठ्नुहुँदैन, म प्रश्नहरूभन्दा माथि छु, म स्फटिक छु, म विशेष ज्ञानयुक्त छु, यो खाले कुरा आजको समाजमा नगरौँ। लोकप्रियतावादको घोडा चढेर नेपोलियनले कब्जा गरेको जस्तो, हिटलरले कब्जा गरेको जस्तो, जेलेन्स्कीले कब्जा गरे जस्तो होइन,' उनले भने।

प्रकाशित: २१ श्रावण २०८२ १५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App