नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले विश्व व्यवस्थामा भइरहेको परिवर्तन र बढ्दो भूराजनीतिक प्रतिस्पर्धाको असर नेपालमा बढी परेको बताएका छन्।
दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दोस्रो विश्वयुद्धपछि स्थापित विश्व व्यवस्था बिस्तारै भत्किँदै गएको बताए।
‘दोस्रो विश्वयुद्ध पछिको सेट भत्किँदै गरेको र नयाँ सेट बनिनसकेको परिस्थितिको असर सबैतिर परेको छ। विश्व राजनीति अहिले असाधारण संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ,’ उनले भने।
दाहालले विश्व व्यवस्थामा आएको परिवर्तन र भूराजनीतिक प्रतिस्पर्धाले विश्वभर प्रभाव पारेको उल्लेख गर्दै नेपाल पनि त्यसबाट अछुतो नरहेको बताए।
‘हाम्रो नेपाल त झन् दुईवटा विशाल छिमेकीको बिचमा हुनुको कारणले र अर्को तिर जिओपोलिटिक्समा यी दुइटा शक्तिहरुसँग पनि विश्व महाशक्तिहरुको प्रतिस्पर्धा पनि चर्को भएका कारणले पनि हाम्रो देश पनि त्यो भूराजनीतिक चलखेल या भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन। बरु अझ बढी असर नेपालमा परिराख्या छ। यस्तो परिस्थितिबाट हामी गुज्रेका छौ,’ उनले भने।
उनले वर्तमान परिस्थितिमा नेपाली राजनीतिमा पनि असाधारण अवस्था देखापरेको बताए। यस्तो अवस्थामा आफ्नो पार्टी गम्भीर, संवेदनशील र जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए।
‘हामीले विगतमा जनताको सार्वभौम अधिकार र उत्पीडित वर्ग तथा समुदायको हकअधिकारका लागि ठूलो संघर्ष गरेका छौँ। त्यही पृष्ठभूमिका कारण अहिलेको बदलिँदो भूराजनीतिक परिस्थिति र त्यसको असरबाट नेपालको राजनीतिमा पनि देखापरेकको असाधारण परिस्थितिप्रति सबभन्दा बढी गम्भीर संवेदनशील र जिम्मेवार छौं भन्ने हामीले महसुस गरेका छौं,’ उनले भने।
प्रकाशित: ७ कार्तिक २०८३ १६:२१ शनिबार





