नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा नेपालको जलवायु संकट र बाढीपहिरोका विषय ठोस तथ्य, प्रमाण र वैज्ञानिक अध्ययनसहित प्रस्तुत गर्न सुझाव दिएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलगायत पछिल्ला विपद्लाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदा वैज्ञानिक आधार बलियो बनाउनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री शाह आगामी संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन लागेको प्रसंग उल्लेख गर्दै थापाले नेपालले न्यून हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये नेपाल भएको भन्दै तथ्य र प्रमाणबाट पुष्टि गर्नुपर्ने बताए।
‘एकदम तथ्य र प्रमाणका साथ जानुपर्छ। भोटेकोशीमा आएको बाढी, न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने नेपाल नै जलवायु परिवर्तनको मारमा परेको विषय वैज्ञानिक अध्ययनका साथ प्रस्तुत गर्नुपर्छ,’ थापाले भने।
उनले नेपालले अन्तर्राष्ट्रिय समुदायसँग ‘लस एन्ड ड्यामेज’ अन्तर्गत पाउनुपर्ने सहयोगका साथै जलवायु वित्तमा समेत प्रभावकारी लबिङ गर्नुपर्ने बताए। त्यसका लागि महासभामा केवल राजनीतिक भाषणभन्दा पनि नेपालको दाबीलाई प्रमाणित गर्ने वैज्ञानिक तथ्यांक र अध्ययन प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ।
थापाले प्रधानमन्त्री शाहलाई महासभामा जानुअघि नेपालमा भएका पूर्वतयारी, अघिल्ला सरकारका प्रयास र नेपाली संस्थाहरूले गरेका अध्ययनको समीक्षा गर्न आग्रह गरे। उनले विश्वविद्यालय, अनुसन्धान संस्था, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थामा आबद्ध विज्ञहरूको अध्ययनलाई समेत नेपालको प्रस्तुतिको आधार बनाउनुपर्ने बताए।
‘नेपालका संस्थाहरूले गरेका राम्रा काम र अध्ययनलाई एकपटक टेबलमा ल्याउनुस्। विज्ञहरू हुनुहुन्छ, केवल आफ्नो सचिवालयका मानिसमा मात्र भर नपर्नुस्,’ थापाले प्रधानमन्त्रीसँग आग्रह गरे।
उनले विदेशमा रहेका नेपाली तथा नेपालका विषयमा लामो समयदेखि काम गरिरहेका विज्ञसँग समेत परामर्श गर्नुपर्ने बताए। महासभामा नेपालको विषय प्रभावकारी ढंगले उठाउन सक्ने विज्ञ र जानकार व्यक्तिहरू संसारका विभिन्न मुलुकमा रहेको उल्लेख गर्दै थापाले उनीहरूको ज्ञान र अनुभव उपयोग गर्न प्रधानमन्त्रीलाई सुझाव दिए।
नेपालले यसअघि पनि संयुक्त राष्ट्रसंघको महासभा तथा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनहरूमा हिमाल, जलवायु संकट र त्यसबाट परेको असरका विषय उठाउँदै आएको थापाले स्मरण गरे। विगतका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरूले समेत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु संकटबारे धारणा राख्दै आएको उनको भनाइ थियो।
थापाले प्रधानमन्त्री शाहको महासभा भ्रमणलाई ‘ग्रान्ड शो’मा सीमित नगरी ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।
‘प्रधानमन्त्री जानुभन्दा पहिला दुई–तीनवटा बैठक गरेर नेपालको प्रस्तुतिलाई गजब बनाउन सकिन्छ। तयारी गर्नुस्। यसो गरियो भने यो खाली एउटा ग्रान्ड शो मात्रै हुँदैन, त्यसबाट हामीले ठोस उपलब्धि प्राप्त गर्ने अवस्था हुन्छ,’ उनले भने
प्रकाशित: २१ भाद्र २०८३ १७:३१ आइतबार





