१ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

‘आजबाट एक नम्बर पार्टी भयाैं, हामीलाई राष्ट्र बचाउने चिन्ता छ’

नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’ का संयोजक पुष्पकमल दाहालले दश कम्युनिष्ट घटकको एकतासँगै आफ्नो पार्टी आजैका दिनबाट देशको नम्बर एक पार्टी बनेको घोषणा गरेका छन्।

उनले व्यक्तिगत स्वार्थ वा पदका लागि नभई देशलाई इतिहासकै गम्भीर संकटबाट जोगाउने अभिभारा बोध भएपछि आफूहरू एक हुन बाध्य भएको बताए।

बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा संयोजकको हैसियतले सम्बोधन गर्दै दाहालले भने, ‘हामीलाई मृत्युसँग डर छैन, हामीलाई राष्ट्र बच्नुपर्छ भन्ने चिन्ता छ। राष्ट्र बचाउने, लोकतन्त्र बचाउने र उत्पीडित जनताको अधिकार स्थापित गर्ने चिन्ताले हामीलाई एक बनाएको हो। र म भन्न चाहन्छु, आजबाट यो पार्टी एक नम्बर पार्टी भयो।’

आफ्नो सम्बोधनमा दाहालले हालैको ‘जेन-जी’ युवा आन्दोलनले आफूहरूलाई आफ्नै कमजोरीप्रति घच्घच्याएको र एकताको लागि अप्रत्यक्ष रूपमा दबाब सिर्जना गरेको स्वीकार गरे।

‘म ती युवाहरूलाई यस अर्थमा धन्यवाद भन्न चाहन्छु, तपाईं युवाहरूको आन्दोलनले हामीलाई राम्रैसँग घोंच्यो। हाम्रा कमजोरीहरूप्रति तपाईंहरूले राम्रैसँग उजागर गरिदिनुभयो,’ उनले भने, ‘सायद तपाईंहरूले त्यसो नगरेको भए यति छिटो हामी आफ्ना कमजोरीप्रति सचेत हुने र विभाजनको श्रृंखला रोकेर एकताको अभियानमा आउँथ्यौं या आउँदैनथ्यौं।’

उनले जेन-जी आन्दोलनका शहीदहरूप्रति सम्मान व्यक्त गर्दै अबको पार्टीले युवाहरूको भावनालाई केन्द्रमा राख्ने संकल्पसमेत गरे।

उनले सम्बोधनका क्रममा विगतमा अन्य नेताहरूसँग गरेका सहकार्यको स्मरण गर्दै एकताको लामो पृष्ठभूमि रहेको बताए।

उनले निरंकुश पञ्चायतकालमा माधवकुमार नेपालसँग, जनयुद्धकालमा वामदेव गौतमसँग र शान्ति प्रक्रियामा झलनाथ खनालसँग भएका महत्वपूर्ण वार्ता र सहमतिहरूले नै आजको एकताको जग बसालेको उल्लेख गरे।

उनले भने, ‘यी सबै पृष्ठभूमि नभएको भए सायद आज यो एकता सम्भव हुने थिएन।’

उनले आफूहरू सच्चिनुको र त्याग-तपस्या गर्नुको कुनै विकल्प नभएको भन्दै जनताको सपना पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित: १९ कार्तिक २०८२ १७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App