९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

दुई कार्यकाल राष्ट्रपति भएर पनि पूर्वराष्ट्रपतिको राजनीतिक भोक मेटिएन : राजीव खत्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले दुई कार्यकाल राष्ट्रपति भइसकेका व्यक्तिको राजनीतिक भोक नमेटिएको भन्दै टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत खत्रीले नेकपा एमालेको वरिष्ठ नेतामा चयन भएकी विद्यादेवी भण्डारीलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले दुई कार्यकाल राष्ट्रपति भइसकेपछि पनि पूर्वराष्ट्रपतिको ‘राजनीतिक भोक’ नमेटिएको टिप्पणी गरे।

उनले लेखेका छन्, ‘दुई कार्यकाल राष्ट्रपति भएर पनि पूर्वराष्ट्रपतिको राजनीतिक भोक मेटिएन। देशका लागि के दिन बाँकी छ र उहाँको यो राजनीतिक भोक?’

खत्रीले पूर्वराष्ट्रप्रमुखबाट आफूले केही उच्चस्तरको मर्यादा र साझा भूमिकाको अपेक्षा गरेको बताए। उनले पूर्वराष्ट्रप्रमुख भएका व्यक्तिका लागि कतिपय स्थान र पद तर्कभन्दा बाहिर राखेर साझा व्यक्तित्वलाई अघि सारिनुपर्ने जिकिर गरे।

उनले नेपालमा यसअघि राष्ट्रपति भइसकेका व्यक्तिहरू पार्टीभन्दा माथि उठ्न नसकेको टिप्पणीसमेत गरे।

खत्रीले पूर्वराष्ट्रपति तथा उपराष्ट्रपति राजनीतिमा सक्रिय हुँदा त्यसलाई लोकतान्त्रिक अभ्यास भन्ने र पूर्वराजा ज्ञानेन्द्र शाहले केही बोल्दा ‘कू’ को आशंका गर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाएका छन्। उनले ‘पदीय मर्यादा जोगाउने काम ज्ञानेन्द्र शाहले गरेका छन्, मन परोस् या नपरोस्’ भनेका छन्।

'एकथरी यहाँ पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा उत्रिनु, यो लोकतान्त्रिक हो भन्छन्। अनि पूर्वराजा केही बोल्यो कि ‘कू’ को रोदन। पदीय मर्यादा जोगाउने काम ज्ञानेन्द्र शाहले गरेका छन्, मन परोस या नपरोस्,' उनले लेखे। 

उनले राजनीतिमा कुनै एक व्यक्तिको उपस्थितिलाई अपरिहार्य ठान्ने प्रवृत्तिमाथि व्यंग्य गर्दै आफू नभए देशको राजनीति नै ठप्प हुने ठान्नु भ्रम भएको उल्लेख गरेका छन्।

प्रकाशित: ९ आश्विन २०८३ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App