पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई शनिबार बिहान सरकारले पक्राउ गरेपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कदम वर्तमान संविधान, प्रचलित कानुन र स्थापित लोकतान्त्रिक अभ्याससँग नमिल्ने बताएकी छिन्।
भण्डारीद्वारा जारी विज्ञप्तिमा कार्की आयोगको प्रतिवेदन पूर्ण र पर्याप्त नभएको र सरकार गठन भएको पहिलो दिनमै त्यसलाई कार्यान्वयन गर्ने निर्णय गर्नु संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय भएको उल्लेख गरिएको छ।
‘तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको अपरिपक्व निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने देखिन्छ।’
हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्ने लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मर्यादाको कारण निर्णयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेकी छन्।
प्रकाशित: १४ चैत्र २०८२ १६:२८ शनिबार





