कोशी प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्वमन्त्री खगेनसिं हाङगामले कोशीको बजेट अहिलेसम्म पारित हुन नसकेको भन्दै सरकार परिवर्तनसम्मको जोखिम औंल्याएका छन् ।
आइतबार ताप्लेजुङस्थित आईटी एकेडेमीबाट गाफ्रिक डिजाइन र वेब डेभलपमेन्टका दीक्षित विद्यार्थीलाई प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै हाङगामले कोशी प्रदेश सरकारबाट प्रस्तुत बजेट सदनबाट अहिलेसम्म पारित हुन नसकेको भन्दै सरकार परिवर्तनसम्मको अवस्था आउन सक्ने बताए ।
सदनमा प्रस्तुत गरेको बजेट कायम रहे आउँदो आर्थिक बर्षमा समेत गाफ्रिक डिजाइन र वेब डेभलपमेन्ट तालिम सञ्चालन गर्न सकिने उनको भनाई थियो । कोशीमा अहिले नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार छ । हाङगाम कोशी सरकारका मुख्यमन्त्री हिक्कतकुमार कार्की नेतृत्वको सरकारमा उद्योग,कृषि तथा सहकारी मन्त्री समेत थिए ।
दुबै दलले मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्दा हाङगाम पनि परिवर्तन भएका थिए । हाङगाम २०७९ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकातर्फबाट ताप्लेजुङ निर्वाचन १(ख)मा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
प्रकाशित: १४ असार २०८३ १८:१० आइतबार





