परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्।
टर्कीएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा मन्त्री खनाल र महासचिव गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको हो।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकामा महासचिव गुटेरेसप्रति आभार व्यक्त गरे।
खनालले संयुक्त राष्ट्रसंघको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा तथा दिगो विकासका क्षेत्रमा महासचिव गुटेरेसले पुर्याएको योगदानको पनि प्रशंसा गरे।
महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वका लागि पुर्याउँदै आएको महत्त्वपूर्ण योगदानको सराहना गरे।
भेटमा नेपालको पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता, बहुप्रकोप पूर्वसूचना प्रणालीको विकास, जलवायु वित्तमा वृद्धि र जलवायु कार्यलाई प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।
त्यसक्रममा क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका समसामयिक विषयमा समेत छलफल भएको जनाइएको छ। जलवायु परिवर्तनका बढ्दो चुनौतीको प्रभावकारी सम्बोधनका लागि अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप सशक्त बनाउने विषयमा पनि दुवै पक्षबीच कुराकानी भएको थियो।
प्रकाशित: २६ कार्तिक २०८३ २१:४१ बिहीबार





