२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

मनाङमा मर्स्याङ्दीको लेदो बस्ती पस्यो, चामे र ङिस्याङ जोड्ने सडक अवरुद्ध

मर्स्याङ्दी नदीमा आएको लेदोसहितको गेग्रान बस्तीतर्फ पसेपछि चामे गाउँपालिका वडा नं-५ र मनाङ ङिस्याङ गाउँपालिका जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बुधबार राति परेको पानीले नदीमा पुनः ठूलो मात्रामा लेदोसहितको गेग्रान थुपारेपछि नदीको बहाव घरहरूतर्फ सोझिएको हो।

यसअघि गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र बाढीपहिरोका कारण मर्स्याङ्दी नदीको पुल तथा वरपरका बस्तीमा गेग्रान जम्मा भएको थियो।

प्रशासनले विभिन्न मेसिन तथा उपकरण प्रयोग गरी बस्तीतर्फको बहाव रोक्ने प्रयास गरे पनि पुलमाथिबाट पानी बगिरहेको थियो।

तर, २१ गते राति पुनः आएको बाढीले नदीको बगर भरिएर लेदोसहितको भेल बस्तीको भागमा समेत पसेपछि स्थिति थप जटिल बनेको छ। हाल नदीको गेग्रान पन्छाउने कार्य जारी रहेको प्रशासनले जनाएको छ।

सडक र पुल अवरुद्ध भएपछि माथिल्लो मनाङतर्फ हुने खाद्यान्न ढुवानी पूर्ण रूपमा रोकिएको छ भने स्थानीय बासिन्दालाई नदी वारिपारि गर्न समेत निकै सास्ती भएको छ।

यद्यपि, सो क्षेत्रमा रहेका पर्यटकहरूको आवागमनलाई ध्यानमा राख्दै वैकल्पिक पदयात्रा मार्ग भने सञ्चालनमा ल्याइएको छ।

सडक तत्काल सुचारु हुन नसक्दा नागरिकले भोग्नुपरेको असुविधाप्रति जिल्ला प्रशासन कार्यालय मनाङले औपचारिक रूपमा क्षमायाचना गर्दै छिटोभन्दा छिटो आवागमन सहज बनाउने प्रयास भइरहेको जनाएको छ।

प्रकाशित: २२ आश्विन २०८३ १९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App