२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

कोशी प्रदेश सभा : विनियोजन विधेयकमाथि छलफल जारी

कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३।८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथिको छलफलले निरन्तरता पाएको छ। 

छलफलमा कोशी प्रदेशसभा सदस्य रामबहादुर मगर, राधाकृष्ण खनाल, गीता तिमल्सेना, राजन किराती, गणेश उप्रेती र विनोद राईले प्रस्तुत विषयमा आ–आफ्ना धारणा राखे। 

सभामा सामाजिक विकासमन्त्री रामप्रसाद महतोले ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ सभा प्रस्तुत गरे।  

विधेयकमा कुनै पनि संशोधनको प्रस्ताव दर्ता नभएपछि सभामुख अम्बरबहादुर विष्टले स्वीकृत भएको र प्रस्तावको रूपमा प्रस्तुत भएको घोषणा गरे ।  

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट होमबहादुर थापाले प्रजातान्त्रिक मूल्य र मान्यताका आधारमा सरकारले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने बताए। 

वर्तमान परिस्थितिमा प्रजातान्त्रिक शक्तिहरू एक ठाउँमा उभिन ढिलो गर्न नहुने भन्दै उहाँले साङ्गठनिक रूपमा दलहरू एक नभए व्यवस्थामा समस्या आउने बताए।  

गरिबी निवारण गरी कोशी प्रदेशको जनताको जीवनस्तर उकास्न सरकारलले सन्तुलित बजेट तर्जुमा गर्नुपर्ने धारणा राख्दै उहाँले सन्तुलित बजेटको अभावमा जनतामा निराशा बढ्ने र प्रदेश संरचनाप्रति जनताको अनादर बढ्ने चिन्ता व्यक्त गरे।  

शून्य समय 

शून्य समयमा कोशी प्रदेशसभाका सदस्य गीतादेवी रेग्मी, कमला थापा मगर, गोम्बू शेर्पा, राजेन्द्र कार्की, नारायणबहादुर मगर, खिनु लङ्वा लिम्बूले प्रदेशको मौजुदा समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए। 

प्रकाशित: २० असार २०८३ १५:५८ शनिबार