अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री एस. पल कपुरबीच शिष्टाचार भेटवार्ता भएको छ।
मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएकाे भेटमा हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्द्धन तथा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ।
अर्थमन्त्री वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरीय भौतिक पूर्वाधार निर्माण रहेको उल्लेख गरेका छन्। उनले पुराना अनावश्यक कानुन खारेज गरी नयाँ कानुन निर्माणमार्फत आर्थिक सुधार र लगानीमैत्री वातावरण सिर्जना गर्ने सरकारको योजना रहेको बताएका छन्। साथै, अमेरिकी तथा गैरआवासीय नेपाली लगानीकर्ताबाट विशेषगरी पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानी अपेक्षा गरिएको जानकारी दिएका छन्।
सहायक विदेश मन्त्री कपुरले नेपाल-अमेरिका सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। उनले हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपछि बनेको सरकारले अघि सारेका सुधारका कार्यक्रमलाई अमेरिकी पक्षले सकारात्मक रूपमा नजिकबाट नियालिरहेको बताएका छन्। साथै, सफल व्यापारिक सम्बन्ध र अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम जस्ता संस्थासँगको सहकार्यबाट दुवै देश लाभान्वित हुन सक्नेमा जोड दिएका छन्।
उक्त भेटमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू तथा नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट उरबोम सहित अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: ८ वैशाख २०८३ १८:१८ मंगलबार





