२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

रोपाइँको मुख्य समयमा पनि किसानले मल, बीउ र सिँचाइ पाउन सकेका छैनन् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले किसानका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।

शुभकामना सन्देश जारी गर्दै प्रचण्डले कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गरेका छन्। उनले  श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव हुने बताएका छन्।

प्रचण्डले भने, 'तर, रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन सकेका छैनन्। त्यसैले, किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।'

उनले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसले कृषि र किसानप्रतिको सम्मान अझ बढाउँदै उत्पादन वृद्धि गर्ने नयाँ सङ्कल्प जगाउने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा प्रचण्डले सम्पूर्ण नेपालीमा सुख, समृद्धि र सफल खेतीपातीको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: १५ असार २०८३ ०९:४३ सोमबार