प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल कम्पनीहरूले नेपालको कानुन र संविधानलाई ठाडै अस्वीकार गरेर राष्ट्रको अपमान गरेको बताएका छन्।
उनले आफ्नो व्यक्तिगत अपमान सहन तयार भए पनि देश र राष्ट्रिय स्वाभिमानमाथिको हेपाइ नसहने चेतावनी दिए।
ललितपुरको गोदावरीमा जारी एमालेको दोस्रो विधान महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको औचित्य पुष्टि गरेका छन्। उनले यो कदम राष्ट्रिय स्वाभिमानको रक्षाका लागि चालिएको बताए।
‘एक वर्षदेखि सामाजिक सञ्जालहरूलाई नेपालको कानुनअनुसार दर्ता होऊ, कर तिर, उत्तरदायी बन भन्दा, ‘तिमीहरूको संविधान थाहा छैन, तिमीहरूको मतलब छैन’ भनेर जवाफ दिए,‘ प्रधानमन्त्री ओलीले भने, ‘यहाँ त राष्ट्रलाई नै अपमान गरेर, अटेर गरेर, कानुन-संविधान मान्दिनँ भनेर बसेपछि प्रतिबन्ध लगाइएको हो।’
सरकारको निर्णयको आलोचना गर्नेहरूप्रति लक्षित गर्दै उनले राष्ट्रिय स्वाभिमानभन्दा केही व्यक्तिको रोजगारी ठूलो नहुने तर्क गरे। ‘टेर्नुपर्छ भन्दा केही सो-कल्ड बुद्धिजीवीहरू चार जना मान्छेको जब खोसियो अरे ! चार जना मान्छेको जब ठूलो कि राष्ट्रिय स्वाभिमान ठूलो ?’ उनले प्रश्न गरे।
उनले राष्ट्रिय स्वाभिमानका लागि नेपालीहरूले जस्तोसुकै कष्ट सहेको इतिहास रहेको स्मरण गराए। ‘हामी भोकै बसेर पनि स्वाभिमान जोगाएका हौँ, भोकै बसेर पनि नाकाबन्दी सहेका हौँ,’ उनले भने।
आफ्नो व्यक्तिगत आलोचनाप्रति आफू सहनशील रहेको तर देशको अपमानमा चुप नबस्ने उनको भनाइ थियो। ‘मलाई जसले जतिसुकै हेपोस्, मलाई कुनै मतलब छैन। म हेपिन तयार छु मजाले,’ प्रधानमन्त्री ओलीले भने, ‘तर देशलाई हेपेको सहन सकिँदैन।’
उनले केही राजनीतिक दलहरूले क्षणिक स्वार्थका लागि राष्ट्रियताको विषयमा कमजोर प्रवृत्ति देखाएको भन्दै आलोचना समेत गरे।
प्रकाशित: २२ भाद्र २०८२ १७:०२ आइतबार





