पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुनसरीको देवानगञ्ज घटनापछि धार्मिक असहिष्णुता फैलिन नदिन सबै राजनीतिक दल, नागरिक समाज र जनप्रतिनिधि एकजुट हुनुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै श्रेष्ठले फरक–फरक राजनीतिक दलमा रहे पनि वर्तमान परिस्थितिमा सबैले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताइन्।
उनले भनिन्, ‘फरक पार्टीका हौँला तर अहिलेको अवस्थामा हामी सबै जना एक ठाउँमा आउनै पर्छ। आफ्नो पार्टी संगठन, सामाजिक सञ्जाल वा सामाजिक पूँजी जुनसुकै माध्यम प्रयोग गरेर भए पनि यो धार्मिक असहिष्णुतातर्फ जान दिनु हुँदैन।’
श्रेष्ठले घटनालाई धार्मिक रंग दिएर समाजलाई विभाजित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता गतिविधि रोक्न सबै पक्ष एकजुट हुनुपर्ने बताइन्। उनले सरकारलाई घटनाको निष्पक्ष छानबिन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने जिम्मेवारी सरकारसँगै सबै नागरिकको भएको बताइन्।
उनले नागरिक अगुवा, धार्मिक गुरु तथा स्थानीय, प्रदेश र संघीय तहका जनप्रतिनिधिलाई सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न सक्रिय भूमिका खेल्न अपिल गर्दै अहिलेको अवस्थालाई राजनीतिक फाइदा–बेफाइदाको दृष्टिले नहेरी सामाजिक एकता जोगाउने दिशामा काम गर्नुपर्ने बताएकी छिन्।
प्रकाशित: १३ श्रावण २०८३ ११:४२ बुधबार





