जेनजी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत जलाउन हिँडेकाहरू नै अहिले उम्मेदवार बनेर जनताको घरदैलोमा मत मागिरहेका छन्। उनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको हो। आन्दोलनमा पानी बाँड्न हिँडेका सुदन गुरुङ अहिले गोरखा–१ बाट उम्मेदवार छन्। उनले जिल्ला प्रशासन कार्यालयबाट प्रदर्शनकारीलाई पानी बाँड्न अनुमति लिएका थिए। उनले नै जेनजी विद्रोहलाई ‘हाइज्याक’ गरेर अहिलेको अवस्थासम्म पुर्याएका हुन्।
त्यसैगरी रास्वपाबाट मोरङ–२ मा उम्मेदवार बनेका कृष्णकुमार कार्कीले भदौ २४ गते संसद् भवन जलाउँदै गरेको दृश्य आफ्नै सामाजिक सञ्जालमा राखेका थिए। मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की जेनजी आन्दोलनको केही दिनअगाडि मात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए। भदौ २४ मा भएको आगलागीमा उनको तस्बिर र भिडियो टिकटकमा फैलियो। उनी आफैंले समेत उक्त दृश्य फेसबुकमा राखेको भेटिएको छ।
उक्त दृश्यमा कार्कीले आफ्ना समर्थकसहित बानेश्वरस्थित संसद् भवन पुगेर आगो लगाउन सघाएको देखिएको छ। संसद् भवनको कुर्सी मात्र आफूले जलाएको भन्दै उनले भवन भने घुसपैठियाले जलाएको जिकिर गरेका छन्। उनले दलका नेताहरूका घरमा गरिएको विध्वंसमा भने आफ्नो संलग्नता रहेको लेखेका छन्। बालाजुदेखि सोह्रखुट्टे, ठमेल, दरबारमार्ग, रानीपोखरी, सिंहदरबार हुँदै नेताहरूको घरमा पुगेर आगजनी गरेको उनले स्वीकार गरेका छन्।
मोरङ–३ का उम्मेदवार गणेश कार्की पनि भदौ २३ गते आन्दोलनमा सहभागी भएर संसद् भवन जलेकोमा खुसी व्यक्त गर्ने अर्को पात्र हुन्। उनलाई मत माग्न जाँदा मतदाताले सिंहदरबार जलाउने व्यक्ति होइन तपाईं भन्दै प्रश्नसमेत गरेका छन्। उनी रास्वपा स्थापनाकालदेखिकै नेता हुन्। त्यस दिन तत्कालीन सांसद तोसिमा कार्की पनि फिल्डमै थिइन्। जेनजी विध्वंसमा संसद् भवनमा आगो लगाउने कार्यमा संलग्न प्रकाश रजौरियालाई रास्वपाले उम्मेदवार बनाएको छ।
रजौरिया कपिलवस्तु–३ बाट घण्टी चिह्न लिएर प्रतिनिधिसभा उम्मेदवार बनेका हुन्। भदौ २४ गते संसद भवन जलाएपछि ‘हाम्रो मिसन पूरा भयो’ भन्ने भिडियो रजौरियाले आफ्नै फेसबुकमा पोस्ट गरेका थिए। प्रहरीले अनुसन्धान थालेपछि उनले उक्त भिडियो हटाएका थिए।
युवा अधिवक्ता सुलभ खरेल सर्वोच्च अदालत जलेपछि खुसी हुनेमध्येका अर्का व्यक्ति हुन्। उनी रूपन्देही–२ बाट उम्मेदवार छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतको विषयमा सामाजिक सञ्जालमा ‘के लेख्नुभएको थियो’ भनेर प्रश्न गर्दा उनी इजलासमै ढलेका थिए।
एमालेले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बहस हुनुअघि संवैधानिक इजलासमा उनी बेहोस भएका थिए। रास्वपाबाट उम्मेदवार रहेका अधिवक्ता खरेल भ्रष्टाचारसम्बन्धी एउटा व्यक्तिकेन्द्रित मुद्दामा बहस गर्न अदालत पुगेका थिए। अधिवक्ता खरेलले बहसको सुरुमै आफ्नो परिचय दिएपछि उनलाई रोक्दै प्रधानन्यायाधीश राउतले सामाजिक सञ्जाल फेसबुकमा लेखेको विषयबारे प्रस्टीकरण मागेका थिए।
प्रधानान्यायाधीश राउतले भनेका थिए, ‘तपाईं इजलासमा बहस गर्न आउनभयो तर तपाईंलाई याद छ कि छैन, भदौ २४ गते सर्वोच्च अदालतमा आगलागी भएपछि तपाईंले सामाजिक सञ्जालमा के लेख्नुभएको थियो ?’ प्रधानन्यायाधीश राउत त्यतिमा मात्रै रोकिएनन्। उनले थप सोधेका थिए, ‘कानुन व्यवसायीले मर्यादा राख्नुपर्छ कि पर्दैन? तपाईं सर्वोच्च अदालत र बारमा आगजनी हुँदा खुसी हुनुपर्ने कारण के हो?’
महेन्द्र गौतमविरुद्ध मुद्दा नचलाउने निर्णय बदर
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सिंहदरबार जलाएको अभिव्यक्ति दिएका महेन्द्र गौतममाथि मुद्दा नचलाउने भनी गरेको निर्णय बदर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले चितवन खैरहनी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय गौतममाथि मुद्दा नचलाउने भनी गरेको निर्णयलाई पाटन उच्च अदालतले बदर गरेको हो।
पाटन उच्च अदालतकी उपन्यायाधिवक्ता बिन्दु धामी रावलले मुद्दा नचलाउने निर्णयलाई बदर गरी मुद्दा चलाउने निर्णय भएको बताइन्। ‘निर्णयअनुसार मुद्दा चलाउनू भनेर जिल्लामा हामीले फाइल पठाइसक्यौं,’ उनले भनिन्।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गौतममाथि मुद्दा चलाउन भिडियो प्रमाण पर्याप्त नभएको दाबी गरेको थियो। सामाजिक सञ्जालमा बाहिरिएको भिडियोमा गौतमले ‘सिंहदरबारको गेट तोडी भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाएर भ्याइसक्यौं’ भनेका थिए।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनसहित प्रमुख प्रशासकीय भवनहरूमा आगजनी भएको थियो। आगजनी गरेको तस्बिर र भिडियोका आधारमा त्यसमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी अभियोजन गर्दै आएको छ तर सरकारले सरकारी वकिल कार्यालयमार्फत उनीहरूलाई अभियोजन नलगाउन दबाब दिँदै आएको छ।
प्रकाशित: १८ फाल्गुन २०८२ ०८:०४ सोमबार





