नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिगत कारणले कसैलाई दाग लागेको छ भने त्यो मेटाउने काम सम्बन्धित व्यक्तिकै हुने बताएका छन्।
पार्टी केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी विनिता खड्का ठगी आरोपमा शुक्रबार पक्राउ परेको विषयतर्फ सङ्केत गर्दै उनले व्यक्तिमाथि लागेको व्यक्तिगत आरोप वा दागको भारी पार्टीले नबोक्ने बताए।
सभापति पदमा पुनः निर्वाचित भएपछि शनिबार दिउँसो पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर नेता-कार्यकर्तालाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र कानुनी शासनमा कांग्रेस दृढ रहेको बताए।
सञ्चारमाध्यममा आएका समाचारबारे चर्चा गर्दै उनले भने, ‘लेखिदिनुभएकोमा, जानकारी दिनुभएकोमा तपाईंहरूलाई धन्यवाद। हाम्रो केन्द्रीय सदस्य चुनाव लड्नुभएको विनिता खड्का पक्राउ पर्नुभएको रहेछ। कुनै पनि व्यक्तिमाथि लागेको आरोपहरू उसैले खण्डन गर्ने हो। दाग लागेको छ भने आफैंले मेटाउने हो।’
सभापति थापाले राजनीतिक विषयभन्दा बाहिर गएर व्यक्तिगत कारणले आफूमाथि नै कुनै दाग लागेमा समेत पार्टीका एकजना कार्यकर्तालाई पनि बचाउमा नआउन आग्रह गरे।
‘राजनीतिभन्दा बाहिर मेरो आर्थिक वा पारिवारिक कारणबाट ममाथि कुनै आरोप लाग्यो भने, कुनै दाग लाग्यो भने त्यो मेटाउने काम मेरो व्यक्तिगत हुन्छ,’ उनले भने, ‘यसमा कांग्रेस सभापतिमाथि आरोप लाग्यो भनेर एकजना साथीले पनि बोल्नु पर्दैन।’
थापाले कुनै पनि राजनीतिक दलले व्यक्तिका निजी गल्ती र अपराधको भारी बोक्न नहुनेमा जोड दिए। उनले अगाडि भने, ‘अरू कसैलाई पनि व्यक्तिगत कारणले कुनै आरोप लाग्छ भने त्यसलाई कांग्रेसले बोक्दैन। कांग्रेसको सभापतिको हैसियतमा म भन्दै छु, भोलि व्यक्तिगत कारणले मै पक्राउ परेँ भने पनि कोही नआउनुहोला। सानालाई जे कानुन लाग्छ, ठूलालाई पनि त्यही कानुन लाग्नुपर्छ।’
गैरकानुनी काम गर्ने जो-कोहीले पनि आफ्नो कर्मको फल आफैं भोग्नुपर्ने र त्यसको जिम्मा पार्टीले नलिने उनको भनाइ थियो।
प्रकाशित: २४ आश्विन २०८३ १६:४९ शनिबार





