राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले पार्टीका प्रवास नेपाली सम्पर्क विभागका सदस्य रविन्द्र प्रसाद यादवलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
एक नागरिकप्रति अभद्र गालीगलौज, अश्लील तथा अमर्यादित व्यवहार गरेको आरोपमा उजुरी परेपछि प्रदेश समितिले उनलाई कारबाहीको चेतावनीसहित स्पष्टीकरण सोधेको हो।
रास्वपा मधेश प्रदेश कार्यालयले साउन २६ गते यादवका नाममा पत्र जारी गर्दै रौतहट जिल्ला समितिबाट प्रमाणसहित उजुरी प्राप्त भएको जनाएको छ।
पार्टीको नीति, सिद्धान्त, विधान र आचारसंहिता अनुसार सदस्यहरूबाट मर्यादित र अनुशासित आचरणको अपेक्षा गरिने भन्दै यादवको यस्तो व्यवहारले पार्टीको प्रतिष्ठा र साङ्गठनिक अनुशासनमा गम्भीर असर पार्ने पत्रमा उल्लेख छ।
पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र घटनाको वास्तविकता, आफ्नो संलग्नता वा असंलग्नता स्पष्ट हुने गरी मधेश प्रदेश समितिमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।
तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआएमा वा प्राप्त स्पष्टीकरण सन्तोषजनक नदेखिएमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी थप कारबाहीका लागि सम्बन्धित आयोग र केन्द्रीय सचिवालयसमक्ष प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ।
साथै, छानबिनको प्रक्रिया पूरा नभएसम्म कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिन र साङ्गठनिक गतिविधि नगर्नसमेत यादवलाई सचेत गराइएको छ।
प्रकाशित: २७ श्रावण २०८३ १८:३२ बुधबार


-600x400.jpg)


