संघीय निजामती ऐनसम्बन्धी विधेयकले सरकारी मनोनयनमा तालिम, अध्ययन वा अध्ययन भ्रमणमा जाने निजामती कर्मचारीले अनिवार्य रूपमा कबुलियत गर्नुपर्ने व्यवस्था गरिएको छ।
कबुलियतअनुसारको सेवा अवधि पूरा नगरेमा त्यस्ता कर्मचारीबाट तालिम, अध्ययन वा अध्ययन भ्रमणका क्रममा प्राप्त गरेको तलब तथा भत्ता रकमको दोब्बर रकम असुलउपर गरिने व्यवस्था विधेयकमा गरिएको छ।
ऐनबमोजिम अध्ययनमा जाने निजामती कर्मचारीले प्रत्येक वर्ष वा सेमेस्टरको नतिजा प्रकाशन भएको ३० दिनभित्र नतिजाको विवरण आफू कार्यरत निकाय, राष्ट्रिय किताबखाना र सम्बन्धित मन्त्रालयमा पठाउनुपर्नेछ। विद्युतीय अभिलेख प्रणाली भएमा उक्त प्रणालीमा समेत विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, निजी प्रयासबाट अध्ययनमा गएको निजामती कर्मचारीले कबुलियतअनुसारको अवधि सेवा नगरी सेवाबाट अलग हुन चाहेमा अध्ययन बिदा अवधिभर निजको समान पदले प्राप्त गर्ने तलब, भत्ता तथा सेवा सुविधाको रकम एकमुष्ट रूपमा फिर्ता गर्नुपर्नेछ।
त्यसपछि मात्र बिदा स्वीकृत भएको मितिदेखि राजीनामा स्वीकृत गर्नुपर्ने व्यवस्था गरिएको छ। यसरी अध्ययन बिदामा रहेको अवधिलाई निजको सेवा अवधिमा समेत गणना नगरिने व्यवस्था विधेयकमा गरिएको छ।
तालिम, अध्ययन वा अध्ययन भ्रमणमा जाने निजामती कर्मचारीले पालना गर्नुपर्ने कबुलियतसम्बन्धी विभिन्न प्रावधानसमेत ऐनमा समेटिएका छन्।
प्रकाशित: १५ आश्विन २०८३ १३:१८ बिहीबार



-600x400.jpg)

