२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

एकतामा जोड दिँदै कोइरालाले भने: बिपीको मेलमिलापको नीति कुनै विधानबाट आएको थिएन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपी कोइरालाले मेलमिलापको नीति लिँदा कुनै विधान वा संविधानको पन्नाबाट ननिस्किएको बताएका छन्। आइतबार एक भिडिओ वक्तव्य जारी गर्दै कोइरालाले समग्र नेता कार्यकर्तालाई पार्टी एकतामै जोड दिन आग्रह गर्दै यस्तो बताएका हुन्। 

‘कांग्रेस विधानमा के छ र के हुनुपर्छ? भन्ने विषय मलाई थाहा छ,’ कोइरालाले भने। विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन हुँदै गर्दा आफूले केन्द्रीय कार्यसमिति बैठकमा लिखितै दर्ज गरेको पनि उनले स्मरण गराए।

‘मैले त्यसो गरिरहँदा नेपाली कांग्रेसमा कुनै, कतै कुनाबाट पनि विभाजनको प्राविधिक र भावनात्मक सन्देश प्रवाह नहोस् भन्नेमा म सतर्क थिएँ,’ कोइरालाले भने,‘मलाई यो पनि थाहा छ, कांग्रेस संक्रमणमा पर्दा कसले त्याग र अपमान सहनुपर्छ भनेर।’ आफू सबै अपमान सहेर अन्तिमसम्म पार्टी विधानबाट मात्र नभई कांग्रेसजनको भावनात्मकता एकतामा अगाडि बढिरहने उनले बताए। 

‘बिपीको मेलमिलाप कुनै कानुनको पन्नाबाट निस्किएको थियो। न कांग्रेसको विधान र संविधानमा थियो,’ उनले भने,‘यो बिपीको अन्तर आत्माको आवाज थियो। यो नेपालजनको आवाज थियो।’ आफू एक्लो भए पनि बिपी कोइराला, सुवर्ण शमशेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालगायत नेताले छाडेको पद चिन्हबाट विचलित नहुने पनि उनले बताए। 

‘यो पदचिह्न भनेको कांग्रेसको मौलिक आदर्श सिद्धान्त हो। जसमा टेकेर नेपालीहरू स्वतन्त्र भए, सार्वभौम भए,’ कोइरालाले भने। 

‘के कांग्रेस नेता कार्यकर्ता सहमति, सहकार्य, सहअस्तित्व स्वीकार गर्दै एकताको बिगुल फुँक्ने महाधिवेशन गर्न सक्दैनौँ?,’ कोइरालाले प्रश्न गरे।

प्रकाशित: २७ पुस २०८२ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App