ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् निर्यातलाई मात्र नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न नमिल्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले विद्युत् निर्यात भइरहँदा स्वदेशमै अघोषित लोडसेडिङ, ट्रिपिङ तथा बारम्बार बत्ती जाने समस्या किन भइरहेको भन्दै गरेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२।८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २१ अर्ब ७५ करोड २४ लाख रुपैयाँ आम्दानी गरेपनि विद्युत् निर्यातसँगै स्वदेशी उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनु पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो।
उनले नेपालको जलविद्युत् उत्पादन प्रणाली मुख्यतः नदी प्रवाही प्रकृतिको भएकाले वर्षायाममा उत्पादन बढी हुने र हिउँदमा उत्पादन घट्ने समस्या रहेको बताए। जलाशययुक्त आयोजना निर्माण, प्रसारण सञ्जालको विस्तार तथा वितरण प्रणालीको सुदृढीकरण नगरेसम्म विद्युत् क्षेत्रमा देखिएका चुनौती पूर्ण रूपमा समाधान गर्न कठिन हुने उनले बताए।
विद्युत् आपूर्तिमा देखिएको भोल्टेजको उतारचढाव, बारम्बार ट्रिपिङ तथा ट्रान्सफर्मरमा आउने समस्याबारे अध्ययन गर्न मन्त्रालयले २०८३ असार १६ गते उच्चस्तरीय समिति गठन गरेको मन्त्री श्रेष्ठले जानकारी दिए।
उनका अनुसार समितिले देशका विभिन्न क्षेत्रमा विद्युत् प्रवाह र भोल्टेजको अवस्था तथा बारम्बार हुने ट्रिपिङको अध्ययन गरी प्रतिवेदन तयार गरिसकेको छ। उक्त प्रतिवेदनमा उल्लेखित सुझाव र सिफारिस कार्यान्वयनका लागि २०८३ साउन २० गते नेपाल विद्युत् प्राधिकरणलाई पठाइसकिएको उनले बताए।
मन्त्री श्रेष्ठले वितरण प्रणालीमा रहेका पुराना, जीर्ण तथा न्यून क्षमताका पूर्वाधार र विद्युत् खपतमा भएको तीव्र वृद्धिका कारण पनि कतिपय क्षेत्रमा विद्युत् अवरुद्ध हुने समस्या देखिएको बताए।
‘घरेलु विद्युतीय उपकरणको प्रयोग बढेसँगै विद्युत् माग पनि वर्षेनी बढिरहेको छ। तर पुराना र न्यून क्षमताका संरचनाले बढ्दो विद्युत् भार धान्न नसक्दा कतिपय क्षेत्रमा बेलाबेलामा विद्युत् अवरुद्ध हुने समस्या देखिने गरेको छ,’ उनले भने।
समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत् माग व्यवस्थापन, ट्रान्सफर्मर तथा फिडरको क्षमता वृद्धि, प्रणाली सुदृढीकरण र तत्काल मर्मतसम्भारलाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।
वर्षायाममा हावाहुरी, चट्याङ, बाढी तथा पहिरोका कारण विद्युतीय पूर्वाधारमा क्षति पुग्दा पनि विद्युत् आपूर्तिमा समस्या आउने गरेको उनले बताए। कतिपय स्थानमा रुख ढलेर तार चुँडिने, पोल ढल्ने तथा टावरलगायत संरचनामा क्षति पुग्ने गरेको भन्दै उनले यस्तो अवस्थामा प्राधिकरणका कर्मचारीले तत्काल मर्मतसम्भार गरी विद्युत् सेवा सञ्चालन गरिरहेको बताए।
मन्त्री श्रेष्ठले अब विद्युत्को पहुँच विस्तारमा मात्र नभई वितरण प्रणालीको गुणस्तर, क्षमता र विश्वसनीयता अभिवृद्धिमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताए। चालु आर्थिक वर्षको बजेटको ठूलो हिस्सा प्रसारण प्रणालीको सुदृढीकरणका लागि खर्च गर्ने गरी कार्ययोजना तयार गरिएको उनले जानकारी दिए।
स्वदेशी उपभोक्ताका लागि विद्युत् आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न काठमाडौं उपत्यका तथा प्रमुख सहरमा स्मार्ट मिटरिङ र सबस्टेसन अटोमेसन प्रणाली विस्तारको काम अघि बढाइएको उनले बताए।
त्यस्तै, बढ्दो विद्युत् माग व्यवस्थापन गर्न नयाँ सबस्टेसन निर्माण, प्रसारण तथा वितरण लाइन विस्तार र स्तरोन्नतिको कामलाई तीव्रता दिइएको मन्त्री श्रेष्ठले जानकारी दिए।
प्रकाशित: २ भाद्र २०८३ १४:२५ मंगलबार





