कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसको गगन थापा पक्षलाई आधिकारिकता दिएर निर्वाचन आयोगले भदौ २४ को झझल्को दिने गरी माघ महिनामा भदौ २५ मनाएको टिप्पणी गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शनिबार इटहरीमा आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तक्रियामा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले निर्वाचन आयोगले संविधान, दलको विधान, स्थापित मान्यतालाईसमेत ख्याल नगरेको आरोप लगाए । मुख्यमन्त्री कार्कीले भने ‘निर्वाचन आयोगले संविधान, दलको विधान, दलसम्बन्धी कानुन र स्थापित मान्यतालाईसमेत ख्याल नगरी गगन पक्षीय कांग्रेसलाई आधिकारिकताको मान्यता दियो ।’
निर्वाचन आयोगले जस्तो छिटो निर्णय कुनै पनि निकायले आजसम्म नगरेको उनको दाबी छ । एउटा दुई वटा मान्छेले स्टाटस लेखेकै भरमा संसद विघटन र निर्वाचनको घोषणा गरिएको भन्दै कार्कीले गुनासो गरे ।
‘एक दुई जनाले सन्कीको भरमा स्टाटस लेखेको भरमा संसद विघटन गरियो ’ मुख्यमन्त्री कार्कीले भने । उनले निर्वाचन निर्धारित समयमै हुनुपर्ने, निष्पक्ष, भयरहित, शान्तिपूर्ण र धांधलीरहित हुनुपर्ने मान्यता भए पनि निर्वाचन आयोग र सरकारका निर्णयले त्यस्तो हुने अवस्था नदेखिएको बताए ।
उनले भने ‘निष्पक्ष, भयरहित, शान्तिपूर्ण र धांधलीरहित हुनुपर्ने मान्यता भए पनि निर्वाचन अयोग र सरकारका निर्णयले त्यस्तो अवस्था देखिँदैन ।’
एमाले लोकतान्त्रीक पार्टी भएकाले निर्वाचनमा भाग लिने तर, सरकारका हर्कतहरूबारे खबरदारी पनि गरिरहने उनले स्पष्ट पारे ।
कार्यक्रममा इन्सेकका अध्यक्ष विजय गौतमले राज्यलाई उत्तरदायी बनाउन इन्सेकले निर्वाचन अनुगमनको काम गर्दै आएको बताए । उनले मानवअधिकारका क्षेत्रमा राज्यलाई उत्तरदायी बनाउन इन्सेकले मानवअधिकार अभिलेख र मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको जानकारी दिए ।
प्राध्यापक कृष्ण पोखरेलले निर्वाचन लोकतन्त्रको प्रक्रियामात्रै भएको बताए । उनले निर्वाचनले लोकतन्त्रलाई स्थायीत्व नदिने स्पष्ट पारे । लोकतन्त्रलाई स्थायित्व दिन राजनीतिक दलहरूले जनातासँग गरेका बाचा पुरा गरे कि गरेनन् भन्नेमा निर्भर हुने उनले स्पष्ट पारे ।
२१ औं शताब्दीका विद्रोहहरू कुनै दलविशेषबाट नभई सामाजिक सञ्जालबाट बनेका धारणाहरूबाट हुने गरेको र त्यस्ता विद्रोह हिंस्रक बन्ने गरेको साथै यस्ता आन्दोलनले समस्या देखाउने तर, समाधान नदिने पोखरेलले स्पष्ट पारे । अब, राजनीतिक दलहरूले जनताको पक्षमा काम नगरे भाग्नुपर्ने अवस्था आउनेतर्फ सचेत हुनुपर्ने उनको सुझाव छ । पोखरेलले नेपाली कांग्रेसको हकमा निर्वाचन आयोगले गरेको निर्णय उचित रहेको बताए ।
प्रकाशित: ३ माघ २०८२ १९:३३ शनिबार





