गगन थापाले प्रतिनिधिसभा निर्वाचनपछि देश हार्ने अवस्था आउन नदिन सबै दल र नेताले जिम्मेवार बन्नुपर्ने बताएका छन्। फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा बारा जिल्लाको प्रसौनी बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि बन्ने संसद र सरकारले विकास निर्माण तथा सुशासन दिन नसके देश नै कमजोर बन्ने चेतावनी दिए।
‘निर्वाचनपछि संसद र सरकारले काम गर्न सकेन भने देश हार्ने अवस्थामा पुग्छ,’ उनले भने, ‘देश हार्यो भने आमाहरूको श्राप लाग्छ, कसैको पनि भलो हुँदैन।’ निर्वाचनमा जोसुकै विजयी भए पनि देशलाई सही दिशामा अघि बढाउन सक्नुपर्ने उनको भनाइ थियो।
थापाले फागुन २१ पछि बन्ने सरकार र संसदले निश्चित उपलब्धि हासिल गर्न नसके दुई वर्षमै फेरि निर्वाचन गराउनुको औचित्य नहुने उल्लेख गरे। निर्वाचनअघि भएका घटनामा ज्यान गुमाएका युवाहरूका परिवार न्यायको प्रतीक्षामा रहेको उल्लेख गर्दै उनले चुनावपछि पनि सुशासन स्थापित हुन नसके जनआक्रोश बढ्ने बताए।
कांग्रेसको नेतृत्वमा सरकार बने देशलाई हार्न नदिन आवश्यक कानुन निर्माण गरी सुशासन स्थापना गर्ने जिम्मेवारी आफूले लिने दाबी उनले गरे। ‘म थुन्ने र बाँध्ने कुरा गर्ने मान्छे होइन,’ उनले भने, ‘सुशासनका लागि चाहिने कानुन बनाएर पाँच गुणा बढी गतिमा काम गर्नेछु।’
सम्पत्ति छानबिनबारे बोल्दै उनले उच्चस्तरीय आयोग गठन गरी पहिले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको, त्यसपछि आफ्नो सम्पत्तिको छानबिन गराउने प्रतिबद्धता व्यक्त गरे। त्यसपश्चात सरकारको नेतृत्व गरेका अन्य दलका नेताहरूको सम्पत्ति पनि छानबिन गरिने उनको भनाइ थियो।
सभामा कांग्रेस सह–महामन्त्री तथा बारा क्षेत्र नम्बर ३ का उम्मेदवार फरमुल्लाह मंसुर र क्षेत्र नम्बर ४ का उम्मेदवार श्यामबाबु गुप्तालाई विजयी गराउन आग्रह गरिएको थियो। मंसुरले थापाको नेतृत्वपछि पार्टीमा ऊर्जा थपिएको दाबी गर्दै कांग्रेस उम्मेदवारलाई जिताएर थापालाई प्रधानमन्त्री बनाउने वातावरण सिर्जना गर्नुपर्ने बताए।
क्षेत्र नम्बर ४ का उम्मेदवार गुप्ताले आफूलाई मत दिएर विजयी गराए क्षेत्रको विकासमा केन्द्रित रहने प्रतिबद्धता जनाए।
कोल्हवीपछि प्रसौनीमा आयोजित सभालाई सम्बोधन गरेका थापा त्यसपछि पर्साको पोखरियामा कार्यक्रमका लागि हेलिकप्टरमार्फत प्रस्थान गरेका थिए।
प्रकाशित: १६ फाल्गुन २०८२ १८:५१ शनिबार





