३० कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

चैत ५ गते भित्र स्थानीय तह चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारी गरेको छ। निर्वाचन आयोगले वर्तमान जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार चैत ५ गतेभित्र निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थानीय तह निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिन आवश्यक पर्ने भएकाले आयोगले निर्वाचनको मिति चैत महिनाका लागि प्रस्ताव गरेको हो।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले सोही वर्ष जेठ ५ गतेदेखि कार्यभार सम्हालेका थिए। कानुनी व्यवस्थाअनुसार उनीहरूको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै नयाँ निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ।

प्रवक्ता भट्टराईले निर्वाचनका लागि आवश्यक तयारी, व्यवस्थापकीय काम र कानुनी प्रक्रियालाई ध्यानमा राखेर आयोगले सरकारलाई उपयुक्त समयबारे परामर्श दिएको बताए।

उनका अनुसार निर्वाचन सम्पन्न गर्न १२० दिनको समय आवश्यक पर्ने भएकाले सरकारले समयमै निर्वाचनको मिति घोषणा गर्नुपर्नेछ।

आयोगले चैत ५ भित्र निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखेको अवस्थामा सरकारले मंसिर पहिलो साताभित्रै मन्त्रिपरिषद्बाट निर्वाचनको मिति तय गर्नुपर्ने देखिन्छ।

निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूसँग समेत आयोगले यसअघि परामर्श गरिसकेको छ। सोही परामर्श र निर्वाचन व्यवस्थापनको आवश्यकतालाई आधार बनाएर सरकारलाई मिति सिफारिस गरिएको आयोगको भनाइ छ।

यता सरकारले पनि निर्वाचन आयोगसँगको छलफलपछि मिति घोषणाको तयारी अघि बढाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएपछि प्रधानमन्त्रीले आवश्यक राजनीतिक परामर्श गरेर निर्वाचनको मिति तय गर्ने तयारी रहेको बताइएको छ।

निर्वाचनको मिति घोषणासँगै राजनीतिक दलहरूलाई स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि अघि बढाउन बाटो खुल्नेछ। यद्यपि निर्वाचनको अन्तिम मिति भने मन्त्रिपरिषद्को निर्णयपछि मात्रै औपचारिक रूपमा सार्वजनिक हुनेछ।

प्रकाशित: ३० कार्तिक २०८३ १७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App