नेकपा संयोजक पुष्पकमल दाहालले सम्पूर्ण कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
नेकपासँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै दाहालले कम्युनिष्ट पार्टीहरूबीच एकता कायम गर्दै देशभक्त र लोकतन्त्रवादी शक्तिहरूलाई समेत एउटै अभियानमा जोड्नुपर्ने बताए।
उनले अहंकारका कारण विगतमा भएका कमजोरीबाट पाठ सिक्दै अघि बढ्नुपर्नेमा जोड दिए। नेतृत्वमा अहंकार राख्दा जेनजी आन्दोलन देख्नुपरेको बताउँदै फेरि यस्तो हुनबाट सचेत हुनुपर्ने बताए।
‘यस मञ्चबाट म के भन्न चाहन्छु भने हामी कसैले पनि अहंकार नगरौँ। हाम्रो अहंकार पोहोर साल चकनाचुर भएको छ। जसले अहंकार गर्यौँ, त्यसको परिणाम भोगिसकेका छौँ। यहाँ धेरै कुरा भन्नु परेन, हामी सबैले बुझेका छौँ। इतिहासबाट शिक्षा लिने हो र अगाडि बढ्ने हो,’ उनले भने।
उनले हालसम्म २६ दल रहेको अवस्थामा नयाँ दल थपिएसँगै २७ दल पुगेको उल्लेख गर्दै आगामी दिनमा थप चार–पाँच दललाई एकताबद्ध गर्न सके सम्पूर्ण कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न सकिने विश्वास व्यक्त गरे।
यस्तै दाहालले शान्ति सम्झौतादेखि नै एकताका लागि पहल गर्दै आएका पार्टी र नेताहरूलाई स्वीकार गरेर अघि बढ्न अन्य कम्युनिष्ट दलहरूलाई आग्रह गरे।
‘म अपिल गर्न चाहन्छु–या त तपाईंहरू नेतृत्व गर्नुस्, अगाडि आउनुस् र सम्पूर्ण कम्युनिष्ट आन्दोलन, देशभक्त तथा नेपालीलाई एकताबद्ध गर्ने आँट गर्नुस्। हामी साथ दिन तयार छौँ,’ उनले भने।
उनले विगतका कमजोरी दोहोर्याउन नहुने भन्दै देशलाई थप अस्तव्यस्त बनाउने कामबाट सबै राजनीतिक दलहरू जोगिनुपर्ने बताए।
उनले भने, ‘देशलाई लथालिङ्ग पार्ने काम गरिनु हुँदैन। हामीले हिजो गरेका कमजोरीहरू पटक–पटक दोहोर्याइरहनु पनि हुँदैन। हामी अगाडि बढ्नुपर्छ र बढ्न सक्छौँ। म आशावादी छु।’
कम्युनिष्टहरू निराश नभई आशावादी हुनुपर्ने धारणा राख्दै प्रचण्डले उज्यालोतर्फ हेर्ने र सकारात्मक परिवर्तनका लागि प्रयास गर्ने प्रवृत्ति नै वास्तविक मार्क्सवादी सोच भएको उल्लेख गरे।
‘कम्युनिष्टहरू आशावादी हुन्छन्। कम्युनिष्टहरूले उज्यालोतिर हेर्छन्, अँध्यारोतिर होइन,’ उनले भने।
देशको स्वाधीनता र राष्ट्रिय एकता जोगाउन सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।
‘माधवप्रसाद घिमिरेको कवितामा भनेझैँ, ‘नेपालै नरहे के होला?’ हामी त्यस्तै ठाउँमा पुगिरहेका छौँ। देश आज यस्तो अवस्थामा पुगेको छ’, उनले भने, अरूले जस्तो गालीगलौज र गलत भाषाको प्रयोग हामीले अझै गरेका छैनौँ र गर्दैनौँ पनि। यतिबेला देशमा विवेक हराएको छ।’
प्रकाशित: १७ कार्तिक २०८३ १६:०७ मंगलबार





