राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्राकृतिक विपत्तिमा हजारौँ परिवारले घरबार, जायजेथा, बस्ती, छिमेक, खेतबारी तथा जीवनभरको कमाइ गुमाएको भन्दै यस्तो अवस्थामा पीडित नागरिकको आक्रोशलाई राजनीतिक प्रहारका रूपमा नबुझ्न सरकार, राजनीतिक दल र दलका समर्थकलाई आग्रह गरेका छन्।
लामिछानेले भने, ‘आजको राजनीतिको रोटी सेक्ने समय यो हुँदै होइन। आज यो अकल्पनीय प्रकोपको मारमा हजारौँ परिवार परेका छन्। उनीहरूले केवल घरबार गुमाएका छैनन्, जायजेथा, बस्ती, छिमेक, खेतबारी, आफ्नो जीवनको सम्पूर्ण कमाइ गुमाएका छन्। त्योभन्दा माथि आफ्ना प्राणभन्दा प्यारा परिवारका सदस्य गुमाएका छन्।’
उनले विपत्तिमा परेका नागरिकको पीडा सुरक्षित स्थानमा बसेर कल्पना गर्नसमेत कठिन हुने बताए। विद्यालय गएका छोराछोरी फर्किन्छन् कि फर्किँदैनन् भनेर भत्किएको घरको संघारमा बाटो हेरिरहेका अभिभावकदेखि बेपत्ता आफन्तको सास खोज्दै बगर र भग्नावशेषमा भौँतारिरहेका परिवारसम्मको अवस्था अत्यन्त पीडादायी रहेको उनको भनाइ छ।
‘बिहान विद्यालय गएका छोराछोरी अब फर्किन्छन् कि भनेर भत्किएको संघारमा बाटो हेरिरहेका आमाबाबु, मृत्युको त्यो अँध्यारो सुरुङभित्र कतै प्रियजनको सास अझै बाँकी छ कि भनेर छटपटाइरहेका आफन्त र लेदो तथा हिलोले पुरिएको घरभित्रबाट अझै आवाज आउँछ कि भनेर चिच्याइरहेका ती पुकारहरू कल्पना गर्नसमेत कठिन छन्,’ उनले भने।
लामिछानेले विपत्तिमा सर्वस्व गुमाएका तथा मृत्युको मुखबाट आफन्तको उद्धारको प्रतीक्षा गरिरहेका नागरिकबाट राज्यप्रति आक्रोश पोखिनु स्वाभाविक भएको बताए।
पीडित नागरिकलाई सरकारले उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरेको छ कि छैन, सुरक्षाकर्मी कति गहिराइसम्म उद्धारमा पुगेका छन् भन्ने तथ्यभन्दा पनि आफ्ना प्रियजन जीवित छन् भने राज्य त्यहाँ पुगेर उद्धार गरिदियोस् भन्ने अपेक्षा रहेको उनको भनाइ छ।
‘उनीहरूलाई केवल एउटा कुरा चाहिएको छ– मेरो प्रियजनको सास बाँकी छँदै राज्य त्यहाँ पुगिदियोस्, उद्धार गरिदियोस्। यो आशा निराशामा बदलिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नैसर्गिक अधिकार हो,’ लामिछानेले भने।
उनले सरकार र राजनीतिक दलले विपत्तिमा परेका नागरिकको आक्रोशलाई आफूविरुद्धको प्रहारका रूपमा नभई राज्यसँग गरिएको अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताए।
प्रकाशित: २४ भाद्र २०८३ १५:१२ बुधबार

