२९ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

युरोपेली सङ्घको बजेटमा मतभेद

युरोपेली सङ्घ (इयु) को सन् २०२८ देखि २०३४ सम्मको करिब दुई खर्ब युरोको बजेटमा सदस्य राष्ट्रबीच मतभेद चुलिएको छ। आगामी वर्ष फ्रान्ससहित विभिन्न देशमा निर्वाचन हुन लागेकाले राजनीतिक परिवर्तनबाट वार्ता प्रभावित हुन सक्ने चिन्ताबीच नेताहरूले डिसेम्बरभित्र सहमति जुटाउने प्रयास गरिरहेका छन्। 

फ्रान्सको राष्ट्रपति निर्वाचनमा अग्रस्थानमा रहेकी अतिदक्षिणपन्थी नेतृ मरिन ले पेनले इयुको बजेटमा फ्रान्सको योगदान घटाउनुपर्ने बताइन्। उनले निर्वाचनअघि बजेट पारित गर्नु लोकतान्त्रिक दृष्टिले गलत हुने बताइन्।  

बजेटमा कृषि, रक्षा, आर्थिक प्रतिस्पर्धा र आप्रवासनसम्बन्धी खर्च समेटिनेछ। आयरल्यान्डले प्रस्तुत गरेको पछिल्लो प्रस्तावमा बजेटबाट करिब एक खर्ब ४० अर्ब युरो कटौती गर्ने सुझाव दिइए पनि सदस्य राष्ट्रबीच सहमति जुट्न सकेको छैन। 

जर्मनीको नेतृत्वमा रहेका नेदरल्यान्ड्स र स्विडेनलगायतका देशले ठूलो बजेट कटौतीको माग गरेका छन्। फ्रान्सले भने बढ्दो चुनौती सामना गर्न पर्याप्त बजेट आवश्यक रहेको भन्दै कटौतीको विरोध गरेको छ। कृषि तथा क्षेत्रीय विकासमा थप रकम चाहने राष्ट्रहरूको अर्को समूह पनि छ।  

फ्रान्सले डिजिटल सेवा, क्रिप्टो सम्पत्ति, अनलाइन जुवा तथा ठूला कम्पनीमा कर लगाएर इयुको आम्दानी बढाउनुपर्ने प्रस्ताव गरेको छ। आगामी निर्वाचनबाट इयुप्रति असन्तुष्ट दल सत्तामा आएमा बजेटसम्बन्धी सहमति झन् कठिन हुन सक्ने कूटनीतिज्ञहहरूले बताएका छन्। 

इयुको बजेट वार्तालाई अघि बढाउन युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले नेतृत्व गर्ने रसहमति जुटाउने प्रयासमा नोभेम्बरको अन्त्यमा विशेष बैठक आयोजना गर्ने तयारी गरिएको छ।   

प्रकाशित: २९ आश्विन २०८३ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App