४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

देउवाले नेतृत्व छाड्नुपर्छ, महाधिवेशनको मिति तोक्नुपर्छ: शशांक

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई नयाँ गति दिन सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरि मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।

उनले विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनमा जानुपर्ने र त्यसको तयारीका लागि देउवाले तत्काल कार्यसमिति विघटन गरी एक जनालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुपर्ने सुझाव दिए।

शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘मेरो धारणा के हो भने विशेष महाधिवेशन होइन कि अब नियमित महाधिवेशन गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भनेँ, शेरबहादुरजी, तपाईं विघटन गर्नुहोस्, एक जनालाई कार्यवाहक सभापति दिनुहोस्। उनले गठन गर्छन् र नीति तय गर्छन्।’

उनले मंसिरसम्ममा महाधिवेशनको मिति तय हुनुपर्ने आफ्नो व्यक्तिगत धारणा रहेको पनि स्पष्ट पारे।

आसन्न निर्वाचनबारे सोधिएको प्रश्नमा डा. कोइरालाले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले चुनावलाई नकार्न नसक्ने बताए। उनले भने, ‘चुनाव त लड्नै पर्‍यो। लोकतान्त्रिक पार्टी भएको हुनाले हामीले चुनावलाई नकार्न सक्दैनौँ, त्यहाँ जानै पर्‍यो।’

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सहभागी नहुने भनी दिएको अभिव्यक्तितर्फ संकेत गर्दै उनले डेमोक्रेसीमा चुनावबाहेक अर्को विकल्प नहुनेमा जोड दिए।

‘हाम्रो आग्रह के हो भने डेमोक्रेसीमा चुनावबाहेक अरू के विकल्प छ ?’ उनले प्रश्न गरे, ‘उहाँहरू (एमाले) पुन:स्थापना भन्नुहुन्छ, त्यो त कानुनी कुरा हो। कानुनले दिन्छ भने ठीक छ, होइन भने त अरू बाटो हुनुपर्‍यो नि।’

उनले देशमा शान्ति, सुव्यवस्था कायम गर्न चुनाव नै उत्तम विकल्प भएको बताउँदै सरकारलाई निष्पक्ष र धाँधलीरहित चुनाव गराउन आग्रह गरे।

साथै, उनले आगामी चुनावका लागि अन्य दलहरूसँग पनि परामर्श गरेर अघि बढ्नुपर्ने बताए।

प्रकाशित: २५ आश्विन २०८२ १९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App