नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने कार्यतालिका परिवर्तन भएको छ।
साउन २६ गते राति काठमाडौं फर्किने तय भए पनि उनी आगामी बिहीबार साउन २८ गते दिउँसो साढे १२ बजे काठमाडौं आइपुग्ने भएका छन्।
स्रोतका अनुसार देउवाको स्वदेश फर्किने मिति र समय परिमार्जन भएको हो। साउन २६ गते राति पौने १० बजे काठमाडौं अवतरण हुने तालिका भएपनि रातिको समयमा विमानस्थलमा स्वागत गर्न कठिन हुने भएकाले समर्थकको आग्रहमा उडानको समय परिवर्तन गरिएको स्रोतको भनाइ छ।
देउवा बिहीबार थाई एयरवेजको विमानमार्फत काठमाडौं आउने जनाइएको छ। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि देउवा गत फागुन १३ गते सिंगापुर एयरलाइन्सबाट सिंगापुर गएका थिए।
थप उपचारका लागि उनी २०८२ चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए। यसअघि साउन ५ गते बीपी स्मृति दिवसका अवसरमा जारी गरेको वक्तव्यमा देउवाले स्वास्थ्य उपचारपछि आफू चाँडै स्वदेश फर्किने बताएका थिए।
वक्तव्यमा उनले लोकतन्त्र, संविधान र जनताको अधिकारको रक्षाका लागि पुनः नेपाली भूमिमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका थिए। देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासप्रति आफू पूर्ण रूपमा आशावादी रहेको बताउँदै चाँडै स्वदेश फर्किने बताएका थिए।
प्रकाशित: २३ श्रावण २०८३ १५:४७ शनिबार





