नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको काठमाडौं महानगरपालिका वडा नम्बर ९ को अधिवेशन शुक्रबार कांग्रेस र सनातन हिन्दु धर्मको प्रतीक ओमकार अंकित झण्डा राखेर स्वस्तीवाचन गर्दै सुरु भएको छ।
नेपाली कांग्रेसको २०४० सालमा क्रियाशील सदस्यता लिएका ८६ वर्षीय कांग्रेस नेता कुलप्रसाद चौलागाईंले काठमाडौं वडा नम्बर ९ को इकाइ अधिवेशनको उद्घाटन गरेका हुन्। देउवाले यसअघि आयोजित राष्ट्रिय भेलाको समापन कार्यक्रममा आफू हिन्दु भएको उल्लेख गर्दै कांग्रेसको अबको झुकाव सनातन हिन्दु राष्ट्रतर्फ हुने संकेत गरेका थिए। सोहीअनुसार काठमाडौंमा देउवा समूहको कांग्रेस अधिवेशनमा पनि बटुकद्वारा स्वस्तीवाचन गर्दै अधिवेशनको उद्घाटन गरिएको हो।
अधिवेशनबाट जगदिश कुइँकेलको सभापतित्वमा कार्यसमिति चयन गरिएको नवनिर्वाचित सचिव इन्दु लामिछानेले जानकारी दिइन्। कार्यक्रममा युवा नेता दिनेश विक्रम शाहले नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउन कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका थिए।
उनले भने, ‘कांग्रेसको चार तारा स्वतन्त्र न्यायपालिका, भयमुक्त समाज, वाक स्वतन्त्रता र धार्मिक स्वतन्त्रताको प्रतीक हुन्। नेपाल सदियौंदेखि वैदिक सनातन हिन्दु परम्पराको जगमा अघि बढिरहेको नेपाली समाजलाई सही दिशामा डोर्याउन नेपालको संविधानमा भएको धर्मनिरपेक्षताको विषय संशोधन गर्दै सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने बताएका हुन्।’
नेपाली कांग्रेस देउवा समूहको अधिवेशन देशभर १५ गतेदेखि सुरु भएको थियो। सो समूहको महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको छ।
यसअघि गगनकुमार थापा सभापति रहेको नेपाली कांग्रेसको अधिवेशन असोज ३ गतेदेखि सुरु भएको थियो। थापा नेतृत्वको कांग्रेसको महाधिवेशन यही असोज १८ गते उद्घाटन हुँदैछ।
प्रकाशित: १६ आश्विन २०८३ २०:५७ शुक्रबार


-600x400.jpg)


