नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्रको एकतालाई सुदृढ बनाउँदै बलियो कांग्रेस निर्माण गर्नुपर्ने बताएका छन्।
उनले कांग्रेस कमजोर भए मुलुकको लोकतान्त्रिक प्रणाली नै जोखिममा पर्ने भन्दै आन्तरिक विवादभन्दा संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएका छन्।
बुधबार बिपि स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले कांग्रेस फुटको बाटोमा होइन, अझ बलियो र संगठित पार्टी निर्माणको दिशामा अघि बढ्नुपर्ने बताए। साथै नेपाली कांग्रेस कमजोर भयो भने मुलुकको प्रजातन्त्र दुर्घटनामा पर्ने र भन्दै पार्टीभित्र एकता, संगठन विस्तार र जिम्मेवारीबोध हुनुपर्ने बताए।
बस्नेतले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस स्थानीय तह, प्रदेश र संघीय तहसम्म बलियो राजनीतिक शक्तिका रूपमा स्थापित भएको भन्दै वर्तमान सभापति गगन थापाको नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसले पार्टी विभाजनको अवस्था सिर्जना गर्न नहुने बताए।
उनले बीपी कोइरालाले परिकल्पना गरेको लोकतान्त्रिक कांग्रेसलाई थप बलियो बनाउँदै मुलुकमा लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकास गर्नुपर्ने बताउँदै देशमा राजनीतिक अस्थिरता अन्त्य गर्न, राष्ट्रिय एकता, सार्वभौमसत्ता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न कांग्रेस अझ सशक्त बन्नुपर्ने बताए।
प्रकाशित: ६ श्रावण २०८३ १७:०३ बुधबार





