नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा गुटबन्दीको अन्त्य गर्ने सामूहिक सङ्कल्प भएको बताएका छन्। सोमबार (आज) स्थायी समितिको बैठक सकिएपछि पेरिसडाँडामा बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले यस्तो बताएका हुन्।
'हामीले सामूहिक एकताको साथमा सबैखाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने सङ्कल्प गरेका छौँ,' दाहालले भने, 'सामूहिक रूपले प्रतिबद्धता गरेका छौँ र फेरि एकचोटि जनतामा जाने, देशमा देखा परेका विसङ्गतिका विरुद्धमा आन्दोलन गर्ने निर्णय भएको छ,' उनले भने।
चार दिन चलेको बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायतका नेताहरूले अध्यक्ष दाहालको आलोचनासमेत गरेका थिए। यी विषयहरूका बारेमा सोध्दा दाहालले मिलिसकेको बताए।
प्रकाशित: १९ श्रावण २०८२ १५:३१ सोमबार





