२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

अपराधीलाई ‘कोर्रा लगाउनुपर्छ’ भन्ने साम्पाङको अभिव्यक्तिमा विवाद, रेकर्डबाट हटाउन माग

मंगलबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दिएको एक अभिव्यक्तिलाई लिएर संसदमा विवाद भएको छ।

उनले देशमा अपराधीहरूलाई नियन्त्रण गर्न ‘फटालाई कर्याक झ्याप गरेर हान्नु, कोरा (कोर्रा) लगाउनुपर्छ’ भन्दै दिएको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राणाले नियमापत्ति जनाएकी हुन्।

बैठकमा बोल्दै सांसद साम्पाङले देशमा सुरक्षा, न्याय, सेवा-सुविधा र अवसरको कमी रहेको बताउँदै प्रधानमन्त्री बालेन्द्र शाहले नैतिक जिम्मेवारी लिनुपर्ने माग गरेका थिए। उनले मस्जिद, मदरसा, गुम्बा र मन्दिरहरूमा आगजनी तथा तोडफोडका घटना बढेको तर सरकार कमजोर बनेको दाबी गरे।

सोही क्रममा उनले भने, ‘मेरो तेरो नभनिकन फटालाई कर्याक झ्याप गरेर हानूँ न कोर्रै कोर्राले, त्यस्तो कानुन बनाऊ, यही हो कानुन बनाउने ठाउँ।’ सांसद साम्पाङको सोही भनाइप्रति आपत्ति जनाउँदै रास्वपा सांसद राणाले नियमापत्ति जनाइन्।

उनले आफू स्वयम् यातना र कोर्रा लगाउने जस्ता कार्यविरुद्ध कानुन बनाउन वर्षौंसम्म वकालत गरेको व्यक्ति भएको स्मरण गराउँदै गरिमामय सदनमा जनता वा अपराधीलाई कोर्रा लगाउने शब्द प्रयोग गर्नु अनुपयुक्त भएको बताइन्।

सांसद राणाले भनिन्, ‘कोर्रा लगाउने, यातना दिने दिनु हुन्न भनेर कानुन ल्याउने व्यक्तिमध्ये म पनि पर्छु। वर्षौँ मैले एडभोकेसी गरेर यो गरिमामय सदनमा कोर्रा जस्तो शब्द आफ्नो जनतालाई, चाहे अपराधी होस् चाहे जे होस्, लगाउने यो शब्द उपयुक्त भएन। यहाँले ती शब्दहरूलाई सुधार्नुपर्छ र यो यस्ता शब्दहरू हाम्रो सदनको रेकर्डबाट हटाउन अनुरोध गर्दछु।’

प्रकाशित: २६ श्रावण २०८३ १४:२६ मंगलबार