नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले सञ्चारमाध्यममाथि हुने कुनै पनि प्रकारको नियन्त्रण तथा विज्ञापन कटौती लोकतन्त्रका लागि गम्भीर चुनौती भएको बताएका छन्।
नेपाल पत्रकार महासंघ, छापा माध्यम बचाउ सुधार कार्यदलको ध्यानाकर्षण पत्र ग्रहण कार्यक्रममा बोल्दै ज्ञवालीले सञ्चारमाध्यमले जस्तोसुकै परिस्थितिमा पनि स्वतन्त्र रूपमा बोल्न र लेख्न पाउनुपर्ने बताएका हुन्।
उनले राजनीतिक दलहरू प्रतिबन्धित रहेको समयमा समेत दलका गतिविधि र समाजमा भइरहेका परिवर्तन जनतासम्म पुर्याउन पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए। सञ्चार क्षेत्र उद्योगका रूपमा अघि बढे पनि साना सञ्चारमाध्यमको भूमिका उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
ज्ञवालीले भने, ‘सूचना लुक्न नदिन सञ्चारमाध्यममा विविधता आउनुपर्छ। साना–ठूला सबै सञ्चारमाध्यमले स्वतन्त्र ढंगले काम गर्न पाउनुपर्छ भन्ने एमालेको मान्यता हो।’ सरकारका पछिल्ला निर्णयबाट सञ्चार क्षेत्रमा परेको प्रभावबारे एमाले जानकार रहेको बताउँदै उनले लोककल्याणकारी विज्ञापन निष्पक्ष र भेदभावरहित रूपमा उपलब्ध गराउनुपर्ने बताए। विज्ञापन क्षेत्रमा रहेको एकाधिकार अन्त्य हुनुपर्ने पक्षमा एमाले रहेको पनि उनले बताए।
लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाउँदै ज्ञवालीले भने, ‘यो विज्ञापन बन्द गर्ने कुरा मात्र होइन, अभिव्यक्ति स्वतन्त्रता खोस्ने प्रयास हो।’
उनले सञ्चारमाध्यममाथिको आक्रमणलाई लोकतन्त्रमाथिकै सुनियोजित आक्रमणका रूपमा लिनुपर्ने बताए। सामाजिक सञ्जालमार्फत महिलालाई बलात्कार गर्ने धम्कीजस्ता घटना बढिरहेको उल्लेख गर्दै उनले अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सञ्चारमाध्यमको भूमिका अझ महत्त्वपूर्ण हुने उनको भनाइ छ।
उनले भने, ‘जस्तोसुकै अवस्थामा सञ्चारमाध्यमले बोल्न र लेख्न पाउनुपर्छ। त्यसो गर्दा मात्र लोकतन्त्र जीवन्त हुन्छ।’ नेपाल पत्रकार महासंघले उठाएका विषयमा एमालेको साथ र समर्थन रहेको उनले बताए।
प्रकाशित: २८ भाद्र २०८३ १८:४५ आइतबार





