स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया नियमित रूपमा अघि बढिरहेको जानकारी दिइन्।
मन्त्री मेहताका अनुसार ढल्केबरमा नयाँ पूर्वाधार निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ‘ट्रमा युनिट’ सञ्चालन गर्न लागिएको हो।
लहानमा सीटी स्क्यान, चिकित्सकीय जनशक्ति र ब्लड बैंकजस्ता आधारभूत पूर्वाधार तयारी अवस्थामै रहेकाले तत्कालका लागि सेवा सुरु गर्न लागिएको उनले बताइन्।
‘लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन,’ मन्त्री मेहताले संसदमा भनिन्, ‘ढल्केबरमा नयाँ संरचना निर्माण नहुँदासम्म दुर्घटनाका घाइतेहरूलाई तत्काल उपचार उपलब्ध गराउने यो अन्तरिम र व्यावहारिक व्यवस्था मात्र हो।’
सडक दुर्घटनाका गम्भीर घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्कालको सेवा र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको उनले उल्लेख गरिन्।
मन्त्री मेहताले ढल्केबरमा निर्माणाधीन ट्रमा सेन्टरलाई छिटो सम्पन्न गर्न र नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा पुर्याउन जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूसँग सहयोगको अपिलसमेत गरेकी छन्।
प्रकाशित: २५ श्रावण २०८३ १६:४९ सोमबार





