राजनीतिक विश्लेषक मुमाराम खनालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संस्थागत रूपमा समाप्त पार्ने सुनियोजित योजना भइरहेको बताएका छन्।
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यस विषयमा सरकारका प्रमुख व्यक्तिहरू मौन रहेको टिप्पणी गरेका हुन्।
उनले नेपाल प्रहरीको नेतृत्वमाथि सरकारी दलका सांसदले निराधार आरोप लगाएर आक्रमण गरिरहेको र यसमा गृहमन्त्री र पार्टी सभापति मौन बसेको बताएका छन्।
‘सुनियोजित रूपमा नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई संस्थागत रूपमा समाप्त पार्ने षड्यन्त्र भइरहेको छ। एकातिर, नेपाल प्रहरीको मुख्य नेतृत्वमाथि निराधार रूपमा सरकारी दलको अराजक सांसदले आक्रमण गरिरहेको छ, तर गृहमन्त्री र पार्टी सभापति मौन छन्,’ उनले लेखेका छन्।
त्यस्तै, ३० वर्षसम्म अनवरत सेवा गरेका सशस्त्र प्रहरीका माथिल्लो वरीयताका नेतृत्वदायी अतिरिक्त महानिरीक्षक (एआईजी) माथि गृहमन्त्रीले आधारहीन व्यक्तिगत प्रतिशोध साँधिरहेको उनले बताएका छन्।
‘अर्कोतिर, ३० वर्षसम्म अनवरत सेवामा समर्पित सशस्त्र प्रहरीको माथिल्लो वरीयताका नेतृत्वदायी एआईजीमाथि स्वयं गृहमन्त्री आधारहीन व्यक्तिगत प्रतिशोधको उन्मादमा मस्त छन्,’ उनले लेखेका छन्।
उनले प्रहरी संगठनमाथि भइरहेको यस्तो व्यवहारलाई सामान्य रूपमा लिन नहुने भन्दै मुलुकलाई संस्थागत शून्यतातर्फ धकेलिरहेको टिप्पणी गरेका छन्।
‘नेपाल प्रहरी र सशस्त्र प्रहरी सिध्याउने सरकारको यस्तो अराजकता सामान्य होइन। मुलुक संस्थागत शून्यतामा झर्दैछ। संस्थागत चरित्र सनकको सिकार हुँदैछ,’ उनले भनेका छन्।
प्रकाशित: २३ आश्विन २०८३ १२:२५ शुक्रबार





