२ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ। देश शोकमा रहेका बेला उत्सवका कार्यक्रम नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार जारी गरेको सूचनामा भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र बुढीगण्डकीमा आएको बाढीले समेत क्षति पुर्‍याएको उल्लेख छ। यस्तो दुःखद घडीमा यस वर्ष कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम आयोजना नगरिने सूचनामा जनाइएको छ।

कांग्रेसले २०३४ सालदेखि कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गर्दै आएको छ। २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका बीपी कोइरालाले आपसी सौहार्दता अभिवृद्धि तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले चियापान समारोह सुरु गरेका थिए।

यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले शोकको घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुभन्दा शान्त र संयमित भएर परिवारमा सीमित रही मनाउन आग्रह गरेका छन्।

प्रकाशित: १ कार्तिक २०८३ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App