नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालन गर्ने जिम्मेवारी पाए पनि सरकार सही ढंगले सञ्चालन नभए देशले दुःख पाउने बताएका छन् ।
छठ पर्व मनाउन सर्लाही पुगेका सभापति थापाले कांग्रेसले प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने बताए । उनले सरकार सञ्चालनमा कमजोरी देखिए कांग्रेसको पनि विशेष जिम्मेवारी हुने उल्लेख गरे ।
उनले भने, ‘नेपाली कांग्रेसको राष्ट्रिय जिम्मेवारी छ । अघिल्लो निर्वाचनबाट नागरिकले हामीलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएपछि हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने हो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाउने जिम्मेवारी पाएको छ । उहाँहरूले सरकार चलाउने हो । तर सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ । ढंगले नचलिरहेको बेलामा हाम्रो पनि विशेष जिम्मेवारी छ ।’
थापाले कांग्रेसलाई घेराबन्दी र षड्यन्त्रले कमजोर बनाउन नसक्ने दाबी गरे । यस्ता चुनौती विगतमा पनि सामना गरेको भन्दै उनले त्यसलाई चिरेर अघि बढ्ने बताए ।
उनले भने, ‘तपाईंले बाहिर सुन्नुहुन्छ, घेराबन्दी हुन्छ, षड्यन्त्र हुन्छ । हामी ती सबैलाई चिरेर गइहाल्छौँ, कुनै ठूलो कुरा छैन । त्यो आउँछ, जान्छ । त्यसको तागत राख्छौँ हामी । धेरै पटक आए, गए । हामी चिरेर जान्छौँ, त्यो ठूलो कुरा छैन ।’
उनले कांग्रेसको मुख्य चिन्ता देशको समय खेर नजाओस् र जनताले दुःख पाउन नपरोस् भन्ने रहेको बताए । आगामी पाँच वर्षको समय सदुपयोग हुनुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘हाम्रो मुख्य चिन्ता फेरि देशले दुःख नपाओस् भन्ने हो । फेरि देशको समय खेर नजाओस् भन्ने चिन्ता हाम्रो हो । चार वर्षपछि फेरि चुनाव आउँछ, फेरि जाउँला । कहिले सरकारमा भइन्छ, कहिले बाहिर भइन्छ, केही छैन । तर देशको समय खेर नजाओस्, देशले दुःख नपाओस् । यो पाँच वर्षको समय सदुपयोग होस् भन्ने हाम्रो कुरा हो ।’
यसैगरी, थापाले काठमाडौंको कमलपोखरीमा २०६४ सालदेखि राष्ट्रपति रामवरण यादवलाई सहभागी गराएर छठ मनाउन सुरु गरेको स्मरण गरे । त्यसबेला काठमाडौंमा गौरीघाट र बागमती गरी दुई स्थानमा मात्र छठ मनाइने गरेको उनले बताए ।
दुई वर्षअघि परिवारसहित मधेश पुगेर जनकपुर र वीरगञ्जमा छठ मनाएको उल्लेख गर्दै उनले यस वर्ष आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पर्व मनाउन आएको बताए ।
थापाले पार्टीको केन्द्रीय समितिको बैठकपछि पुनः सर्लाही आउने र क्षेत्रका सबै गाउँमा पुग्ने प्रतिबद्धता पनि जनाए । पार्टीको अधिवेशन प्रक्रिया र आगामी स्थानीय निर्वाचनको तयारीबारे बोल्दै उनले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने र त्यसलगत्तै प्रदेश अधिवेशन गर्ने सोच रहेको बताए ।
थापाका अनुसार मंसिर ४ गते निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिति तय गर्ने विषयमा छलफल गर्न मुख्य राजनीतिक दलहरूलाई बोलाएको छ । उक्त छलफलपछि निर्वाचनको मिति तय गर्ने विषयमा थप स्पष्ट हुने उनले बताए ।
उनले निर्वाचनमा सर्लाहीका सबै पालिकामा कांग्रेसलाई एकजुट भएर परिचालन गर्ने पनि बताए ।
प्रकाशित: २९ कार्तिक २०८३ १७:१० आइतबार



-600x400.jpg)

-600x400.jpg)