नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको हो ।
कांग्रेसले सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयसमेत खोस्न खोजेको आरोप लगाएको छ ।
राज्यको दायित्व घरबारविहीन नागरिकलाई आश्रय दिनु रहेको उल्लेख गर्दै कांग्रेसले विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
‘सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर होइन, उनीहरूको समस्या हटाएर गर्नुपर्छ,’ कांग्रेसको निर्णयमा भनिएको छ ।
बैठकले होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन् ।
यसैबीच, मंसिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । धारणा राख्ने क्रम जारी रहेकाले बैठक मंसिर ११ गते शुक्रबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ ।
प्रकाशित: १० मंसिर २०८३ १९:२४ बिहीबार





