२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस राजनीतिक परिवार हो, यहाँ सम्मान, सद्भाव र संस्कार हुनुपर्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सञ्चालनमा अग्रजको अनुभव र युवाको ऊर्जा दुवैलाई समेटेर अघि बढ्नुपर्ने बताएका छन्। 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै थापाले सभापतिले एकपटक मात्र होइन, निरन्तर रूपमा अग्रज र अनुभवी नेताहरूको सल्लाह लिनुपर्ने बताए। उनले सभापतिको सल्लाहकार मण्डलमा लामो राजनीतिक अनुभव भएका अग्रजदेखि नयाँ पुस्ताका युवासम्मलाई समेट्नुपर्ने धारणा राखे। 

उनले भने, ‘सभापति भएको व्यक्तिले अग्रजहरूको अनुभव सुन्नुपर्छ। ७०–८० वर्षको अनुभव बोकेका अग्रजदेखि २०–३० वर्षका युवासम्मको सल्लाह लिनुपर्छ। देशका लागि के आवश्यक छ भन्ने विषयमा अग्रजको अनुभव सुन्ने र युवाको ऊर्जा उपयोग गर्ने व्यवस्था हुनुपर्छ।’ 

थापाले कांग्रेसलाई आपसी सम्मान, सद्भाव र कठिनाइमा एकअर्कालाई साथ दिने राजनीतिक परिवारका रूपमा विकास गर्नुपर्ने बताए। 

‘कांग्रेस राजनीतिक परिवार हो। यहाँ आपसी सम्मान, सद्भाव र कठिनाइमा साथ दिने संस्कार हुनुपर्छ। तर पारिवारिक निकटता योग्यता र योगदानको विकल्प बन्नु हुँदैन,’ उनले भने। 

थापाले कांग्रेसमा लामो समय योगदान गरेका राजनीतिक परिवार र नेताका परिवारको योगदानको सम्मान गर्नुपर्ने बताए। उनले गणेशमान सिंह, सुवर्णशमशेर राणा लगायतका नेताहरूको परिवारले पार्टी र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गरे। 

‘कसैको परिवार कांग्रेसको परिवार हो भनेर उसप्रति अनादर होइन, सम्मान गर्नुपर्छ। तर परिवारमा जन्मिएको कारण पद स्वतः प्राप्त गर्ने हकदार भन्ने अभ्यास हुनुहुँदैन,’ थापाले भने। 

उनले कांग्रेसले शहीद तथा लोकतान्त्रिक आन्दोलनमा योगदान दिएका परिवारप्रति थप जिम्मेवारी लिनुपर्ने बताए। त्यस्ता परिवारलाई पार्टीले सहयोग गर्ने विषयलाई प्रचारको माध्यम बनाउन नहुने उनको धारणा थियो। 

थापाले कांग्रेसका अहिले लाखौँ क्रियाशील सदस्य छन् भने विद्यार्थी, ट्रेड युनियन, महिला लगायतका विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाहरू पनि पार्टीसँग जोडिएको बताएका छन्। 

प्रकाशित: १९ आश्विन २०८३ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App