२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : कहाँबाट हुँदैछ मतदान ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा निर्वाचन समितिले संशोधित निर्वाचन कार्यतालिकाअनुसार विभिन्न प्रदेश र समूहका प्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ। 

निर्वाचन समितिका अनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्। यस्तै, खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ। 

खुलामञ्चमा कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। गण्डकी प्रदेशका प्रतिनिधिले खुलामञ्चमा रहेको हिमाल हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ। 

त्यस्तै, मधेस प्रदेशका प्रतिनिधिले खुलामञ्चमा रहेको तराई–मधेस हलबाट मतदान गर्नेछन्। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसँगै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हलबाट मतदान गर्नेछन्। 

निर्वाचन समितिले प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ।   

मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। त्यसपछि निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्रै प्रतिनिधिले मतदान गर्न पाउनेछन्। 

निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। 

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ । निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

यसपटकको महाधिवेशनले विधान संशोधनमार्फत कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्नेछन्। 

प्रकाशित: २२ आश्विन २०८३ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App