नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै आगामी २२ कात्तिकभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ। प्रतिकूल मौसमका कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएपछि समूहले जिल्ला अधिवेशनको समयसीमा थप गरेको हो।
संस्थापन इतर समूहका नेता दीपकप्रसाद कुइँकेलका अनुसार आइतबारसम्म २५ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने सोमबार थप २५ जिल्लामा अधिवेशन जारी छ। बाँकी जिल्लाको अधिवेशन पनि निर्धारित नयाँ समयसीमाभित्र सम्पन्न गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
‘हामी धमाधम जिल्ला अधिवेशन गरिरहेका छौँ। कात्तिक १५ सम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका थियो। तर, प्रतिकूल मौसमका कारण केही जिल्लामा अधिवेशन प्रभावित भएकाले २२ गतेसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारीमा छौँ,’ कुइँकेलले भने।
जिल्ला अधिवेशन सम्पन्न भएलगत्तै मंसिर ४ गते सातै प्रदेशको अधिवेशन गर्ने समूहको तयारी छ। त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गरिनेछ। महाधिवेशनमा करिब आठ हजार प्रतिनिधि सहभागी हुने कुइँकेलले बताए।
महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चलाई मुख्य स्थलका रूपमा तय गरिएको छ। उद्घाटन समारोह र बन्दसत्र खुलामञ्चमै सञ्चालन गरिनेछ भने प्रतिनिधिका लागि भोजनको व्यवस्था भृकुटीमण्डपमा मिलाइने भएको छ। त्यस्तै, नेतृत्व चयनका लागि मतदान राष्ट्रियसभा गृहमा गराउने तयारी छ।
यसैबीच, गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षले भने १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ। कांग्रेसभित्रको संस्थापन इतर समूहले त्यसको समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी अघि बढाएको हो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेस दुई समूहमा विभाजित भएको थियो। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिको वैधानिकतासम्बन्धी विवाद अझै सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्च अदालतको पूर्ण इजलासले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनः सुनुवाइका लागि निस्सा प्रदान गरेपछि संस्थापन इतर समूह नियमित महाधिवेशनको तयारीमा थप सक्रिय भएको हो।
महाधिवेशनको तयारीका लागि केन्द्रीय निर्वाचन समिति संयोजक तोकिसकेको समूहले अब विभिन्न समिति गठन गर्ने तयारी पनि गरेको छ। उता, निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरी समानान्तर गतिविधि सञ्चालन गरिरहेको छ।
पार्टीभित्रको विभाजन तत्काल अन्त्य हुने सम्भावना भने न्यून रहेको संस्थापन इतर समूहका नेता कुइँकेलको भनाइ छ। उनका अनुसार दुई समूहबीच संवाद र सहमतिको सम्भावना लगभग टरेको छ।
‘वडा अधिवेशनअघि नै संयुक्त कार्यतालिका बनाएर अघि बढौँ भन्ने हाम्रो प्रस्ताव थियो। तर, उहाँहरूले त्यसमा चासो देखाउनुभएन। अब दुई समूहबीच संवाद वा एकता हुने सम्भावना देखिँदैन,’ उनले भने।
कांग्रेस विभाजन आफ्नो चाहना नभए पनि परिस्थितिले त्यसतर्फ धकेलेको कुइँकेलको दाबी छ। कानुनी प्रक्रियाभन्दा राजनीतिक सहमतिबाटै विवाद समाधान गर्ने पक्षमा आफूहरू रहे पनि त्यसअनुसार वातावरण बन्न नसकेको उनले बताए।
‘हामी पार्टी विभाजन होस् भन्ने मनस्थितिमा थिएनौँ, तर परिस्थिति बाध्यकारी बन्यो। कानुनीभन्दा पनि राजनीतिक रूपमा नै समस्याको टुंगो लगाऔँ भन्ने हाम्रो चाहना थियो। तर, परिस्थिति त्यस्तो बनेन,’ कुइँकेलले भने।
प्रकाशित: १६ कार्तिक २०८३ १४:५३ सोमबार





