२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दाङ-३ मा कांग्रेस, एमाले, नेकपा र रास्वपाबिच प्रतिस्पर्धा

छैटौं पटक संसदीय निर्वाचनमा भिडेका कांग्रेसका दीपक गिरी तेस्रो जितको खोजीमा छन्। २०५१ सालदेखि संघीय सांसदको निर्वाचनमा भिड्न सुरु गरेका दीपकले अहिलेसम्म दुईपटक निर्वाचन जितेका छन्। २०५१ सालमा एमालेका शंकर पोख्रेलसँग भिडेका दीपक त्यतिबेला पराजित बने। त्यसपछिको २०५६ सालको संसदीय निर्वाचनमा उनले टिकट पाएनन्। २०६४ सालको संविधानसभा निर्वाचनमा दोस्रोपटक उम्मेदवार बन्न पाएका दीपकको हारको शृंखला दोहोरियो। तत्कालीन माओवादीकी सुष्मा शर्माले गिरीलाई पराजित गरिन्।

लगातार दोस्रो पटकको हार बिर्सेर जित निकाल्ने योजनामुताबिक २०७० सालको संविधानसभा निर्वाचनमा गिरी पुनः निर्वाचनमा होमिए। उनले यो बेला हारको शृंखला तोडिदिए। एमालेका उत्तरकुमार ओलीलाई पराजित गर्दै गिरी पहिलोपटक संघीय सांसद बने। गिरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट दोस्रो जित निकाल्ने दाउमा रहे। २०७४ सालमा गिरीको जितको यात्रामा एमालेले ब्रेक लगाइदियो। एमालेका हीराचन्द्र केसीले गिरीलाई पराजित गरिदिए। २०७९ सालमा पुनः उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका गिरी हार बिर्सन चाहन्थे। त्यतिबेला जनमत उनको पक्षमा बलियो बनिदियो, एमालेकी कोमल ओलीलाई पराजित गर्दै गिरी दोस्रोपटक सांसद चुनिए।

गत निर्वाचनमा जित निकालेका गिरी पुनः दाङ क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका छन्। उनीजितको शृंखलालाई निरन्तरता दिने दाउमा छन्। लामो समयसम्मको राजनीतिक अनुभव र दुई कार्यकाल सांसद सँगै मन्त्रीसमेत बनेका गिरी आफू ओहोदामा रहँदा यो क्षेत्रमा गरेका विकासका कामको जस आफूलाई मिल्नेमा ढुक्कजस्तै देखिन्छन्।

पश्चिम दाङको यो क्षेत्रमा कायम कांग्रेसको बलियो पकडले पनि आफ्नो विजयी यात्रालाई सुनिश्चित गरिदिने विश्वासमा गिरी छन्। कांग्रेसको जनमतलाई एकत्रित बनाउँदै नयाँ र तटस्थ मतदाताको मत सुरक्षित गर्ने दाउमा गिरी छन्। गिरीले आफू मन्त्री तथा सांसद हुँदा यो क्षेत्रमा गरेका विकासका कामको जस लिँदै थप विकास निर्माणका काममा दत्तचित्त भएर लाग्ने भन्दै मतदातामा विश्वास जगाइरहेका छन्।

प्रदेशसभा सांसदको कार्यकाल बाँकी छँदै प्रदेशसभा सदस्य पदबाट राजीनामा दिई उपल्लो सांसद छिर्ने योजनामा लागेका धनबहादुर मास्की पनि जित दोहो¥याउने रणनीतिमा छन्। उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार छन्। २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित मास्की यसपटक प्रतिनिधिसभामा जित खोजिरहेका छन्। मास्की लुम्बिनी प्रदेश सरकारमा आर्थिक मामिलामन्त्रीसमेत बनेका थिए।

प्रदेशसभाको कार्यकाल बाँकी छँदै राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा भिडेका मास्कीले आफू प्रदेशमन्त्री भएका बेला यो निर्वाचन क्षेत्रमा भएका विकासे योजनाको जस लिइरहेका छन्। आफू अर्थमन्त्री भएका बेला विभिन्न पूर्वाधार निर्माण भएको उदाहरण प्रस्तुत गरिरहेका उनी यही बलमा निर्वाचन जित्ने दाउमा छन्। यससँगै २०७९ सालमा प्रदेशसभा सदस्यका लागि प्राप्त जनमतलाई सुरक्षित राख्दै नयाँ र तटस्थ मतदाताको मत जित्न खोजिरहेका छन्।

प्रदेश सांसदको कार्यकाल बाँकी छँदै राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका मास्कीलाई जनमतको अवमूल्यन गरेको आरोप पनि लागेको छ।

एमालेबाट यो क्षेत्रमा चुनावमा भिडेका घनश्याम पाण्डे पनि जित निकाल्न चाहन्छन्। उनी २०७४ को स्थानीय तह निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा निर्वाचित भएका पूर्वमेयर हुन्। पाण्डे यसपालि प्रतिनिधिसभा प्रवेश गर्ने दाउमा छन्। २०७९ को निर्वाचनमा दोस्रो शक्तिका रूपमा रहेको एमालेले त्यो मतलाई सुरक्षित राख्दै नयाँ मतदाता बढाउने रणनीतिमा छ।

अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन भएका कारण प्राप्त  मतलाई कुनै एक शक्तिको मात्रै मान्न नसकिने बुझाइमा एमाले छ।  त्यो मत अहिले विभाजन हुने र त्यसको फाइदा आफूलाई पुग्नेमा एमाले विश्वस्त देखिन्छ।

अघिल्लो निर्वाचनमा तेस्रो शक्तिका रूपमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टी यसपालि यो निर्वाचन क्षेत्रमा पहिलो जितको खोजीमा हुने छ। अघिल्लो निर्वाचनमा भिडेका उम्मेदवार कमल सुवेदी अहिले पनि यो क्षेत्रमा रास्वपाबाट चुनावी मैदानमा छन्। जितका लागि अघिल्लो निर्वाचनमा भन्दा आसन्न निर्वाचनमा मत बढाउन खोजिरहेको रास्वपाले पुराना भनिएका दलहरूको मत आफ्नो पक्षमा पार्ने कसरतमा छ।

अहिले रास्वपाले मतदातालाई आफ्नो पक्षमा पार्न फकाइरहेको छ। पुराना भनिएका दलहरूको मत आफ्नो पक्षमा पार्ने रणनीतिमा रहेको यो दल अहिले उसको पक्षमा देखिएको माहोलले जित निस्किने विश्वासमा छ। पुराना दलहरू आफ्नो मतलाई सुरक्षित राखेर जित निकाल्न भरमग्दुर कसरतमा छन्। यो निर्वाचन क्षेत्रमा एक लाख ५० हजार सात सय २० मतदाता छन्।

प्रकाशित: २४ माघ २०८२ १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App