२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

परियोजनालाई अभियान बनाएर चलाउन एनजीओहरूलाई सञ्चारमन्त्रीको सुझाव

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास साझेदार संस्थाले अभियान बनाएर काम गर्नुपर्ने सुझाएका छन् । अहिलेसम्म परियोजनामुखी हुँदा प्रभावकारी काम नभएकाले अब अभियानमुखी बन्न मन्त्री खरेलले सुझाएका छन् ।  

तीनदिने अन्तर्राष्ट्रिय सिकाई सम्मेलनेको उद्घाटनमा मन्त्री खरेलले विकास र सामाजिक परिवर्तनको क्षेत्रमा काम गर्ने अधिकांश विकास साझेदार संस्थाहरु, एनजीओ, आइएनजीओ परियोजनामा मात्रै केन्द्रित हुदा कुनैपनि अभियान प्रभावकारी हुन नसकेको बताए ।  

उनले भने, ‘देशमा क्याम्पियनहरु किन सफल भएन् भन्दा एनजीओहरु प्रोजेक्टबेसमा सीमित भए, त्यसैले अभियानहरु अलपत्र परे । क्याम्पियन र प्रोजेक्टमा फरक छ । धेरै संख्याका विकास साझेदारहरुको काम निश्चित समय सीमामा केन्द्रित छन् । परियोजना सकिएको भोलिपल्ट अभियानै अलपत्र हुने अवस्था छ । त्यसैले नेपालमा काम गर्ने सबै विकास साझेदार संस्थाहरुलाई आज म भन्न चाहन्छु । अब हामीले प्रोजेक्ट नबनाउ, क्याम्पियन बनाएर अगाडि बढौँ ।’

सञ्चारमन्त्री खरेलले आधाभन्दा बढी जनसंख्या ओगट्ने नागरिकको मौलिक हक र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । उनले  सुरक्षित महिनावारीका लागि नीतिगत र संरचनागत सुधारको खाँचो औंल्याएका छन् ।  

मन्त्री खरेलले भने, ‘हामी सँगै अगाडि बढ्नेछौँ, र मर्यादित महिनावारीको दृष्टिकोणले नेपालको भविष्य समृद्ध छ । पूर्वदेखि पश्चिम, सबै समुदायमा, सम्पन्नदेखि विपन्न समाजमा महिनावारीप्रति दृष्टिकोण धेरै जसो समान नै छ, महिनावारीसँग सम्बन्धित भेदभाव अन्त्य गर्दै मर्यादित महिनावारी स्थापना गर्न लागिपरेका सबैप्रति प्रशंसा व्यक्त गर्दछु ।’

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले सरकार फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्ने तयारीमा केन्द्रित रहेको र सुशासन प्रवद्र्धनमा समान प्रतिबद्ध रहेको बताए । उनले भने, ‘भ्रष्टाचारविरुद्धका प्रयासहरू हाम्रो प्राथमिकता हुन्, र ठूला सम्भावित भ्रष्टाचार प्रकरणसम्बन्धी २५ भन्दा बढी मुद्दा खोलिएका छन्, जसलाई अगाडि बढाइरहेका छौँ। भ्रष्टाचारप्रति शून्य सहनशीलता नै हाम्रो मानक हो ।’

 

प्रकाशित: २२ मंसिर २०८२ १५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App