४ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

आयोगले अघि बढायो ओली, देउवा र दाहालका स्वकीयमाथि छानबिन

पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीयमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन अघि बढाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, देउवाका स्वकीय सचिव भानु देउवा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढाइएको हो। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पत्र आएपछि आयोगले निजामती कर्मचारी र प्रहरीको संयुक्त टोली खटाएर छानबिन थालेको हो। आयोगले तीन पूर्वप्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको विवरण माग्दै राष्ट्र बैंक, मालपोत कार्यालयसहित २० भन्दा बढी निकायलाई कारोबार र सम्पत्तिको विवरण मागेको छ।

अख्तियारका एक अधिकारीका अनुसार तीनै जनासँग चाँडै बयान लिने तयारी भइरहेको छ।

तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव बज्राचार्यबारे बदनियतपूर्वक दरबारमार्गको सरकारी जग्गा सस्तोमा यती समूहलाई लिजमा दिएको प्रकरणको अनुसन्धानपछि उनीमाथि समेत अनुसन्धान गर्न प्रहरीले अख्तियारलाई सिफारिस गरेको थियो। यती समूहसँग बज्राचार्यले बालकोटमा चार करोड रुपैयाँ पर्ने जग्गा लिएको खुलेपछि अख्तियारमार्फत अनुसन्धान गर्नुपरेको बताइएको छ।

यसैगरी, पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाको बैंक खाताको विवरण, सेयर, घरजग्गा, सवारीसाधन, ऋण, विदेश यात्रा, परिवारका सदस्यको सम्पत्ति, कम्पनीमा लगानीलगायतका विस्तृत विवरण लिइएको छ। भने, पूर्वप्रधानमन्त्री दाहालकी छोरीसमेत रहेकी गंगाको आर्थिक कारोबारको विवरण अनुसन्धान अधिकृतहरूले अध्ययन गरिरहेका छन्। अख्तियारले उनका पति जीवन आचार्यको सम्पत्तिबारे समेत छानबिन गरिरहेको छ। आचार्य कोशी प्रदेशका मन्त्रीसमेत हुन्।

प्रकाशित: ४ भाद्र २०८३ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App