२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

संसदमा सत्तापक्ष र विपक्षीबिच घम्साघम्सी, सत्तापक्षको बलमा संसद् नियामावली पारित

प्रतिनिधिसभामा सत्तापक्ष र विपक्षी सांसदहरूको घम्साघम्सी र विवादबिच आइतबार राति संसद्को नियमावली पारित भएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको बेल घेराउ र नाराबाजीबिच नियमावली पारित भएको घोषणा गरेका हुन्। विपक्षी दलका सांसदहरूले पटकपटक बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेका थिए।

संसद् नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले छलफलमा उठेका प्रश्नका जवाफ दिँदासम्म बैठक सामान्य रुपमा चलिरहेको थियो। उनले बोलेपछि सभामुखले छलफल समाप्त भएको भन्दै संशोधनकर्तालाई संशोधन फिर्ता लिन समय दिएका थिए। प्रतिपक्षी सांसद नरेन्द्रकुमार केरुङले संशोधन फिर्ता नलिएपछि सभामुखले नियमावली संशोधन फिर्ता प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे। त्यसपछि उनले उक्त प्रस्तावको पक्षमा हुने सदस्यलाई हुन्छ र विपक्षमा रहेकालाई हुन्न भन्न लगाए। सत्तापक्षले हुन्न भनेलगत्तै प्रतिपक्षका सांसदहरु सबै आसनबाट उठे। सभामुखले उठ्नुको कारण सोधे।

प्रतिपक्षका तर्फबाट कांग्रेसकी सचेतक वासना थापाले प्रतिपक्षको मागअनुसार सबै संशोधनलाई विषयगत समितिमा लैजानुपर्ने माग गरेकी थिइन् तर सभामुखले प्रतिपक्षको माग सुनवाइ गरेनन्। उनले कार्यसूची अघि बढाउने अडान लिए। एमाले सांसद् ऐन महरले बोल्नका लागि समय मागे पनि सभामुखले बोल्न दिएनन्। उनले नियमावलीलाई छलफलका लागि फेरि समितिमा नलैजाने भन्दै कार्यसूची अगाडि बढाए। प्रतिपक्षी सांसदले उठेर विरोध जनाइरहे। सभामुखले यही बिचमा केरुङको संशोधन प्रस्ताव अस्वीकृत भएको घोषण गरे। विपक्षी सांसदले नाराबाजी सुरु गरेसँगै मर्यादापालक अगाडि उभिए। होहल्ला र नाराबाजीकै बिच सभामुखले प्रक्रिया अघि बढाइरहे।

प्रतिपक्षको आक्रोश बढदै जाँदा सांसद् र मर्यादापालकबिच तनाव उत्पन्न भएको थियो। रास्वपा सांसद पनि अघि बढ्दा संसद्को बैठकमा एक सदस्यले आफू बसेको कुर्सी नै उचालेका थिए। सांसदहरु कुर्सीमा चढ्दा बैठक अत्यन्त अमर्यादित र अस्वभाविक बन्न पुगेको थियो।

प्रतिनिधिसभा नियमावली मस्यौदामा ३५ वटा संशोधन प्रस्ताव पेस भएका थिए। प्रतिनिधिसभाको गत चैत २३ गतेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता पराजुलीको संयोजकत्वमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसद सम्मिलित १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो। समितिमा ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला समिम मिकरानी, तपेश्वर यादव, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधुकुमार चौलागाई, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल थिए। समितिले गत वैशाख ८ गते नियमावली मस्यौदा तयार गरेको थियो। मस्यौदा समितिका सभापति पराजुलीले गत वैशाख २८ गते नियमावली मस्यौदा प्रतिनिधिसभा बैठकमा पेस गरेका थिए।

प्रकाशित: १८ जेष्ठ २०८३ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App