२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

‘मिशन जागरण’ मार्फत मधेश ब्युँताउने एमालेको कसरत

बदलिँदो राजनीतिक समीकरण र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै नेकपा (एमाले) ले मधेश प्रदेशमा आफ्नो संगठनात्मक आधार पुनर्जागृत गराउन ‘मिशन जागरण अभियान’ अघि बढाएको छ।

मधेशमा पार्टीको प्रभाव विस्तार गर्ने र कार्यकर्ता पंक्तिमा नयाँ उत्साह भर्ने रणनीतिका साथ धनुषाको लालगढमा प्रदेशस्तरीय बृहत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल प्रमुख अतिथि तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारी, जिल्ला इन्चार्ज तथा अध्यक्षहरू, पालिका कमिटीका अध्यक्षहरू र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति थियो।

अभिमुखीकरणका क्रममा पार्टीको वैचारिक स्पष्टता, संगठन विस्तार, जनप्रतिनिधि र पार्टी कमिटीबीचको आपसी समन्वय तथा जनतासँगको प्रत्यक्ष सम्बन्ध सुदृढ गर्ने विषयमा विस्तृत छलफल भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै शीर्ष नेताहरूले बदलिँदो राजनीतिक परिवेशमा एमालेलाई थप सशक्त, व्यवस्थित र जनमुखी शक्तिका रूपमा स्थापित गर्न वडा तहसम्मै कमिटीहरूलाई पूर्ण रूपमा चलायमान बनाउनुपर्नेमा जोड दिए।

एमालेले ‘मिशन जागरण’ लाई केवल नियमित सांगठनिक कार्यक्रममा मात्र सीमित नराखी मधेशमा गुमेको राजनीतिक प्रभाव फर्काउने र आगामी चुनावी प्रतिस्पर्धाका लागि संगठनलाई तल्लो तहदेखि नै तयारी अवस्थामा राख्ने प्रमुख रणनीतिका रूपमा अघि सारेको छ।

प्रकाशित: २३ भाद्र २०८३ २१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App