२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

चन्द्र–सुनिलको कित्ता क्लियर: पार्टी नफुटाल्ने, देउवाको सम्मानजनक बिदाइ

विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसभित्रको विवादले पार्टी फुटको संघारमा रहेका बेला पछिल्लो समय सामाजिक सञ्जालमा लोकप्रिय रहेका नेताहरू डा. चन्द्र भण्डारी र डा. सुनिल शर्माले आफ्नो धारणा सार्वजनिक गरेका छन्। मूलतः संस्थापन इतर, त्यसमा पनि डा. शेखर कोइराला निकट मानिने दुवै नेताले शनिवार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राखेका हुन्। 

पार्टी फुटको पूर्वाभ्यासका क्रममा केन्द्रदेखि जिल्ला–जिल्लासम्म कित्ताकाट चलिरहेका बेला दुई नेताले स्वाभाविक रूपमा ‘कुन कित्ताको?’ भनेर पत्रकारका प्रश्नको सामना गरे। जसमा दुवैले आफू पार्टी एकताका लागि मध्यमार्गी धारणामा रहेको सुनाए। 

जसमा दुवै नेताले विशेष महाधिवेशन मागकर्ताको सम्मान गर्दै संस्थापन पक्षका अभिमतको पनि कदर गरेर सबै नेता एकताबद्ध पार्न आफूहरू संलग्न रहेको प्रतिक्रिया दिएका छन्।  

‘विशेष महाधिवेशन भनिएको छ। हामी सबैलाई यसमा जोड्न चाहन्छौँ,’ नेता भण्डारीले भने,‘यसमा संस्थापन पक्ष, पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, १४ औँ महाधिवेशनमा सभापति लडेका डा. शेखर कोइराला नआए पार्टीलाई अप्ठेरो पर्छ नि।’

त्यस कारण हामी दुई वटै धारलाई एकै ठाउँमा राख्ने आफूहरूको कित्ता रहेको उनले बताए। ‘तपाईँहरू एस–नो भन्नुहुन्छ। कित्ता देखा.. भन्नुहुन्छ। हाम्रो कित्ता पार्टी नफुटाल्ने, नबिगार्ने, मुलुकको नेतृत्व गर्ने नेपाली कांग्रेस हाम्रो कित्ता हो,’ नेता भण्डारीले भने। पार्टी बन्ने र एकताबद्ध हुने अवस्थामा आफूहरू विशेष महाधिवेशनका सहभागी हुने पनि उनले बताए। 

‘हतार नगरौँ’

नेता भण्डारीले नेतृत्व परिवर्तनको हठका कारण हतार नगर्न पनि विशेष महाधिवेशन पक्षधरसँग आग्रह गरे। विगतमा नेकपा एमालेको विभाजनका बेला केपी शर्मा ओलीले चार महिनामा अधिवेशन गर्छु भन्दा माधव नेपालले हतार गरेको पनि उनले सुनाए। उनले प्रश्न गरे,‘हतार गरेकाले आज माधव जी कहाँ हुनुहुन्छ? त्यसैले हतार गर्नुहुन्न।’ कांग्रेस बिग्रिदा सबै बिग्रिने बताउँदै उनले ‘घर जलाएर बस्ने कहाँ हो?’ भन्दै प्रश्न गरे। 

नेता सुनिल शर्माले विगतमा भएका कांग्रेस कलहका कारण मुलुक र लोकतन्त्रलाई नै संकटमा परेको दृष्टान्त सुनाए। ‘अहिले पनि मुलुक संकटको अवस्थामा छ। यही बेला कांग्रेसभित्र विभाजनको स्थिति भए मुलुक अर्को संकटको भुमरीमा फस्ने जोखिम छ,’ उनले भने। 

विकल्प–नीति महाधिवेशन 

पार्टीलाई एकताबद्ध राख्न दुवै नेताले विशेष महाधिवेशनलाई नेतृत्व परिवर्तनको होडमा लैजान नहुने उपाय सुनाए। सोही उपायमा दुवै जना दृढ सुनिए।

‘सबै कांग्रेसको अपनत्व हुने गरी बरु यसलाई नीति महाधिवेशनमा बदल्ने हो कि। यहाँ सबै कांग्रेस नै हुनुहुन्छ। सबैले यसलाई ध्यान दिनुपर्छ,’ नेता भण्डारीले भने। 

आफूहरू विशेष महाधिवेशनमा आएका नेता कार्यकर्तालाई एकताको सन्देशसहित उत्साहित बनाएर पठाउने कित्तामा रहेको पनि भण्डारीले सुनाए। ‘यसर्थ हामी यहाँ आएका साथीहरूलाई उत्साहित गरेर फागुनको निर्वाचनमा एकै चुनाव चिन्हमा होम्ने कित्ता हो। त्यसपछि नियमित महाधिवेशनपछि पार्टीलाई नेतृत्व परिवर्तन गरी एकताबद्ध बनाउने कित्ता हो,’ भण्डारीले भने। 

अहिलेको बेला नेतृत्व परिवर्तनको बेला पनि नभएको भण्डारीले टिप्पणी गरे। उनले अगाडि भने,‘अहिले तत्काल नेतृत्व परिवर्तन तिर पार्टी जाँदैन। किनभने यो कित्ताकाट गर्ने बेला होइन, मिलाउने बेला हो। मिलाएर चुनावमा जाने बेला हो।’ 

‘देउवाको सम्मानजनक बिदाइ, सुनौलो इतिहास’

नेता शर्माले सभापति देउवा सम्मानजनक बिदाइको हकदार रहेको पनि बताए। उनले भने, ‘शेरबहादुर दाइ उमेरको हिसाबले मेरो पिताजीको उमेरको हुनुहुन्छ। उहाँको हामी कसैले चाहेर होस् या नचाहेर लोकतान्त्रिक अभियानमा दिएको योगदानलाई कसैले मेट्न सक्दैन। भलै केही कमीकमजोरी होलान्।’

नेपालमै जन्मदिने बाबुआमा पशुपतिको वृद्धाश्रममा राख्ने र कमलको फूलमा राखे जसरी माया गरेर श्रद्धापूर्वक आर्यघाट पुगाएर समाजमा नमुना हुने गरी बिदा गर्ने दुई प्रवृत्ति रहेको उदाहरण दिँदै उनले भने, ‘हामी यो दोस्रो क्याटेगोरीका बच्चा हौँ।’ 

‘हाम्रो पार्टीको पिताजीलाई बिदा गर्ने कुरा घोक्रे ठ्याँक लगाएर होइन, उहाँको सुरक्षित र सम्मानजनक बिदाइको उपाय अहिले नभए वैशाखमा, वैशाखमा नभए असारमा भए पनि शेरबहादुर दाइलगायत हाम्रा अग्रजहरू जोजो बिदा हुन चाहनुहुन्छ, बिदाइ गर्छौँ,’ नेता शर्माले भने। 

देउवालाई बिदा गर्दा कुनै प्रकारको काला अक्षरले नलेख्ने उनले दाबी गरे। ‘हामी शेरबहादुर दाइको इतिहास पनि सुनौला अक्षरले लेखेर बिदा गर्न चाहन्छौँ,’ उनले भने,‘त्यो सम्मानजनक बिदाइ भनेको विद्रोहबाट हुँदैन। विधिपूर्वक, लोकतान्त्रिक विधिबाट गर्न चाहन्छौँ।’ 

पहिला ‘आरएसएस’, अहिले चन्द्र–सुनिल 

नेता भण्डारीले पत्रकार सम्मेलनमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबिचको द्वन्द्वका दिन पनि सम्झिए। ती दिनमा तीन वृद्ध नेताको झगडा मिलाउन हिँड्ने तीन तत्कालीन युवा नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शैलजा आचार्यलाई पनि सम्झिए। 

‘पहिला गणेशमान,किसुनजी र गिरिजाबाबु झगडा गरिरहने। आरएसएस भनिन्थ्यो क्या–रामचन्द्रजी, शेरबहादुरजी, शैलजा मिलाउन हिँडेको हिँड्यो हुने गाडीमा,’ भण्डारीले भने,‘त्यस्तै अहिले हामी पार्टी मिलाउने सोचमा छौँ क्या।’ 

आफूहरू पार्टी मिलाउन समर्थ हुने र त्यसमा प्रगति पनि भइरहेको भण्डारीले दाबी गरे। 

प्रकाशित: २६ पुस २०८२ १३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App