२३ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

अनियमित कामकाज रोक्न खोज्दा अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण

दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष टोपबहादुर विसीले प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीमाथि आक्रमण गरेका छन्। पालिका स्रोतका अनुसार वैशाख २१ गते दिउँसो करिब २ बजे अध्यक्ष विसीले आफ्नै कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृत घर्तीलाई लक्षित गरी सिसाको गिलास प्रहार गरेका हुन्।  

घटनाको समयमा अध्यक्षको कार्यकक्षमा अन्य कर्मचारीसमेत उपस्थित रहेका थिए। सोही क्रममा विवाद चर्किँदै जाँदा अध्यक्ष आक्रोशित भई गिलास प्रहार गरेको स्रोतले जनाएको छ। कार्यालयको नियमित कामकाजका क्रममा सामान्य विषयमा विवाद उत्पन्न भएपछि घटना भएको हो।

प्रमुख प्रशासकीय अधिकृत घर्तीले इन्धनको अनियमित प्रयोग, होटल–केन्द्रित कार्यक्रम सञ्चालनको प्रयास तथा विभिन्न व्यापारिक व्यक्ति र संघ–संस्थासँगको सम्बन्धबारे असहमति जनाउँदै आएका थिए। त्यस्तै, कार्यालय प्रयोजनका सामग्री अध्यक्षले आफैं खरिद गर्ने, ती सामग्री आफ्नो दराजमा राख्ने र हालसम्म बिल भुक्तानी नभएको विषयसमेत उठ्दै आएको स्रोतको दाबी छ।

यसअघि पनि अध्यक्ष विसीले प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुखमाथि रजिस्टर प्रहार गरेको आरोप समेत लाग्दै आएको छ।

प्रकाशित: २३ वैशाख २०८३ १८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App